काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।
जेठ १६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निणर्य गरेको हो । बैंकले सनराइज बैंकसँगको मर्जर सम्झौतालाई अन्तिम रूप दिनकै लागि विशेष साधारण सभा आह्वान गरेको हो ।
सनराइज बैंकले समेत असार ३ गते नै मर्जरसहितका विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा बोलाएको छ । सनराइज बैंकले भने सभामार्फत गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै लक्ष्मी बैंकसँगको मर्जर प्रस्तावलाई समेत अन्तिम रूप दिने कार्यक्रम तय गरेको छ ।
लक्ष्मी बैंक र सनराइज बैंकबीच गत पुस २५ गते मर्जरको लागि प्रारम्भिक सम्झौता भएको थियो भने जेठ ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो । यी दुई बैंक समान हैसियतमा एक हुन लागेका हुन् । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ ।
हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सनराइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्तापूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ ।
दुवै बैंकले सभामार्फत मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्दै आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिनेछन् । लक्ष्मी बैंकले साधारण सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्दै छ ।
यसको आधारमा जेठ २५ गतेसम्म कायम शेयरधनीहरू मात्र बैंकको सभामा भाग लिन योग्य हुनेछन् । सनराइज बैंकले पनि सभा प्रयोजनका लागि जेठ २३ गते एक दिन बुक क्लोज गर्नेछ । यसको आधारमा जेठ २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सनराइज बैंकको सभामा भाग लिन सक्नेछन् ।