काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार शुरू गर्दैछन् ।
दुवै बैंकले सूचना जारी गर्दै एकीकृत कारोबारको मिति सार्वजनिक गरेका हुन् । मर्जर सम्झौता गरेको सात महीनामा यी दुई कम्पनीले एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत मंसिर २६ गते मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डबाट असार २१ गते यी कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने कम्पनीहरूले असार २४ गते स्वीकृति पाएका थिए । यी प्रक्रिया पूरा भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन् ।
एकीकृत कारोबारपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरू हुनेछ । मर्जरपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।
यी दुई कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् । हाल नयाँ सारथी लघुवित्तको चुक्ता पूँजी रू. ३६ करोड १० लाख ४० हजार छ भने विजय लघुवित्तको चुक्ता पूँजी रू. ३८ करोड ४० लाख छ ।
दुई कम्पनी एक भएपछि बन्ने कम्पनीको चुक्ता पूँजी भने रू. ७४ करोड ५० लाख ४० हजार पुग्नेछ । एकीकृत कारोबारका दिनदेखि सूचीकृत दुवै कम्पनीको शेयर कारोबार १५ दिनका लागि बन्द रहनेछ ।
मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था छ । यसअघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पूरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।