काठमाडौं । व्यावसायिक संगठनहरूले हाल औद्योगिक क्षेत्रमा अघोषित रूपमा लोडशेडिङ भइरहेको बताउँदै यो समस्या समाधान गर्न माग गरेका छन् ।
निजीक्षेत्रका दुई छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । महासंघले औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित/अघोषित लोडशेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीविना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘लोडशेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन् । नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध हुँदा उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ ।’
बारम्बार दोहोरिने विद्युत् आपूर्तिको अस्थिरताले मेशिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मतसम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरेको महासंघले बताएको छ । साथै यस्तो समस्याले मुलुकमा दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको बताइएको छ ।
त्यसैगरी परिसंघले उद्योगहरूमा लोडशेडिङ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उद्योगहरूमा १२ घण्टासम्म विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिसंघको भनाइ छ ।
यस्तो अवस्थाले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाएको भन्दै स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्न र निजीक्षेत्रको मनोबल बढाउन कानूनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन सरकारले प्रयास गर्नुपर्ने परिसंघले बताएको छ ।