औद्योगिक संस्कारहरूको चर्चा गर्ने क्रममा आउने विषय हो : औद्योगिक उत्पादनको बजारीकरण । यो विषय उद्योग स्थापना गर्नु पहिले नै उद्योगको सम्भाव्यता छ वा छैन भनी निर्णय गर्न अध्ययन गरिने विषय भएकाले यो एक निर्णायक र महत्त्वपूर्ण विषय हो । बजारीकरणको सम्भाव्यताको बेवास्ता गरी उद्योगको थालनी गर्दा उद्योग धराशयी पार्ने भएकाले व्यवसायीमा यसको राम्रो ज्ञान हुनुपर्छ र आवश्यकता अनुसार परामर्श पनि लिनुपर्छ ।
उद्योगको सफलता औद्योगिक उत्पादनको बजारीकरणकै सफलतामा भर पर्ने भएकाले व्यवसायीले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ र विक्रेताका रूपमा वा विक्री प्रवर्द्धनमा राम्रो तालीमप्राप्त कामदार खटाउनुपर्छ ।
बजारीकरण भनेको ग्राहक, क्रेता वा समुदायलाई चाहिने वस्तु वा सेवा कुनै मूल्य लिएर उपलब्ध गराउने वा विक्री गर्ने प्रयोजनका लागि धेरै प्रकारका क्रियाकलाप समावेश रहेको समष्टिगत प्रक्रिया हो । धेरै व्यक्तिले बजारीकरण र विक्रीलाई एकै रूपमा लिन्छन् तर यी दुईको अर्थको व्यापकतामा फरक हुन्छ । अघिल्लो चाहिँ धेरै क्रियाकलापको समग्र प्रक्रिया हो भने पछिल्लो चाहिँ तीमध्ये एउटा क्रियाकलाप हो, जसले प्राय: विक्रेताले मूल्य लिएर आफ्नो वस्तु वा सेवा क्रेतालाई उपलब्ध गराउने क्रियाकलाप समेटेको हुन्छ । विक्रय व्यक्तिको शीप र कलाको पक्ष हो भने बजारीकरण एउटा सामाजिक र आर्थिक प्रणाली हो । बजारीकरणका प्रमुख चार पक्ष रहेका छन् – बजार र त्यसका स्वरूप, विक्रेता र विक्रीकला, उद्यमीको उपभोक्ताप्रतिको दायित्व र बजारीकरणका विभिन्न क्रियाकलाप ।
पहिलो पक्ष हो– बजार र त्यसको स्वरूप । क्रेता वा उपभोक्ताका लागि विक्रेताले मूल्य लिएर वस्तु विक्री गर्ने वा सेवा सञ्चालन गर्ने ठाउँलाई बजार भनिन्छ । बजारलाई भिन्नभिन्न आधारमा भिन्नभिन्न तरीकाले विभाजन गर्न सकिन्छ, जस्तो भौगोलिकताको आधारमा स्थानीय बजार, बजार केन्द्रहरू र वैदेशिक बजार भन्न सकिन्छ । वस्तुको परिमाणको हिसाबले खुद्रा व्यापार र थोक व्यापार हुन सक्छ । विक्रय प्रणालीको हिसाबले दोकान, कोसेलीघर, प्रत्यक्ष विक्रीसञ्जाल (नेटवर्क) डिपार्टमेन्टल स्टोर, सुपर मार्केट, अनलाइन (विद्युतीय बजार), घरेलु वितरण (होम डेलिभरी) आदि हुन सक्छन् ।
दोस्रो पक्ष हो – विक्रेता र विक्रीकला । वस्तु विक्री गर्ने वा सेवा सञ्चालन गर्ने स्थलमा उपस्थित रहेर वा नरहेर पनि ग्राहक, उपभोक्ता वा समुदायसँग प्रत्यक्ष रूपले कारोबार गर्ने व्यक्तिलाई विक्रेता भनिन्छ । कारोबारको सफलता विक्रेताको योग्यता वा शीप र कलामा भर पर्छ । निजलाई वस्तु र सेवाको गुणस्तर, कार्य, प्रयोग आदिबारे राम्रो ज्ञान हुनुपर्छ, क्रेतालाई आकर्षण गर्ने व्यक्तित्व हुनुपर्छ, राम्रो र मीठो प्रस्तुति अभिव्यक्ति कला हुनुपर्छ, किनभने बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । ग्राहकलाई विश्वास दिलाउन सक्ने क्षमता हुनुपर्छ । एकपटकका लागि झूटको खेती गरेर पनि बेच्न सकिन्छ तर कारोबार दीर्घकालीन हुने भएकाले सत्यतथ्य सूचना मात्र प्रवाहित गर्नुपर्छ ।
बजारमा उस्तै वस्तु वा सेवाको कारोबार गर्ने धेरै व्यवसायी हुन्छन् तर सफल विक्रेता आफ्नो सामान बिकाउन तार्किक क्षमताको समेत उपयोग गरेर तथा राम्रो सोचविचार गरेर प्रतिस्पर्धामा अब्बल हुन्छ । सफल विक्रेता यस्तोमा क्षमतावान् व्यक्ति हुनुपर्छ । विक्रेतामा यस्ता गुणहरू धेरै हदसम्म योग्यता, अनुभव र तालीमबाट आर्जन हुन्छन् । थोरै गुण जन्म र संस्कारमा पनि भर पर्छन् । विक्रेताका अन्य शीप र कला हुन्– ग्राहकलाई उचित सम्मान दिने र आफू सामान्य भएर प्रस्तुत हुने, ग्राहकको कुरा सुन्ने तिनको आवश्यकता र खाँचो पहिचान गर्ने ।
तेस्रो पक्ष हो– उद्यमीको उपभोक्ताप्रतिको दायित्व । विक्रेताले वा उद्यमीले क्रेता र उपभोक्ताप्रति केही नैतिक र कानूनी दायित्व पनि पालना गर्नुपर्छ अन्यथा ग्राहक भड्कने, कारोबारको साख गिर्ने र कालान्तरमा आफैले नोक्सानी बेहोर्नुपर्ने मात्र होइन, कानूनी अड्चनसमेत पर्ने समस्या पर्न सक्छ । विक्रेताले वा उद्यमीले वहन गर्नुपर्ने प्रमुख दायित्वमा लेनदेनमा इमानदारी र विश्वसनीयता वहन गर्ने, वारेन्टी वा ग्यारेन्टीको पालना गर्ने, वस्तुको प्रकृति हेरी ग्राहकलाई मन नपरे निश्चित अवधिका लागि वस्तु फिर्ता लिने वा दिने, मालसामान र सेवा प्रयोगसम्बन्धी होशियारी र जोखिम स्पष्ट पारिदिने, कुनै पनि प्याकिङ गर्न सम्भाव्य रहेको मालसामान खुला विक्री नगरी आकर्षक प्याकिङ गरेर दिने, उत्पादन तथा उपभोक्ता मिति लेबलमा स्पष्ट पारिदिने, वस्तुको उपभोग गर्ने तरीका बताउने वा लेबलमा उल्लेख गर्ने आदि ।
बजारीकरणको चौथो पक्ष हो– बजारीकरणका विभिन्न क्रियाकलाप । यसभित्र धेरै क्रियाकलाप पर्छन् । जस्तो बजार अध्ययन र विश्लेषण, वस्तु ग्रेडिङ, भण्डारण, प्याकेजिङ तथा लेबलिङ, ट्रेडमार्कको प्रयोग, विक्रीकक्षको व्यवस्थापन सामान ढुवानी, विज्ञापन आदि । सामान उत्पादन भएपछि मात्र बजारीकरण हुन्छ भन्ने सम्झनु मूल हो । बजारीकरण त उद्योग स्थापना गर्नुभन्दा पहिलेदेखि शुरू हुन्छ । किनभने सामान्य लेखाजोखा नै गरेर होस् वा व्यापक रूपमा राम्रोसँग बजार अध्ययन अनुसन्धान गरेर होस् व्यापक बजार विश्लेषण नगरी प्रारम्भ गरेको उद्योग धराशयी हुन्छ । उचित मूल्य प्राप्त गर्न उत्पादित वस्तुको विभिन्न समूहमा ग्रेडिङ गर्नुपर्छ । ग्रेडिङ गर्ने भनेको औद्योगिक वस्तुको आकार, साइज वा गुणस्तरको आभारमा बेग्लाबेग्लै समूह बनाउने । वातावरणीय प्रभाव र जीव जन्तुबाट रक्षा गर्न उचित भण्डारणको व्यवस्था हुनुपर्छ ।
प्याकेजिङ तथा लेबलिङ गर्नुका मूलभूत उद्देश्यहरू हुन् : रोग, कीरा, फोहोर मैलाबाट जोगाउनु, वस्तुको आकर्षण बढाउनु वस्तुलाई सुरक्षित राख्न प्रयोग, उपयोग, होशियारी, वस्तुको संरचनासमेतका सूचनाहरू उपभोक्तालाई उपलब्ध गराउने काम गर्नु आदि । बजारमा उही मालसामानका प्रतिस्पर्धा गर्ने व्यवसायीहरू धेरै हुने भएकाले आफ्नो उत्पादनको बेग्लै पहिचान दिन आफ्नै ट्रेडमार्क दर्ता गरी लेबल बाहिर ग्राहकले स्पष्ट देख्ने र चिन्ने गरी प्रयोग गर्नुपर्छ । प्याकेजिङ तथा लेबलिङसँगै प्रयोग हुने तर फरक प्रकृतिको गहन क्रियाकलाप हो, ट्रेडमार्कको प्रयोग गर्नु । यसबारे विगतका अंकमा धेरैपटक चर्चा भएको छ ।
विक्री गर्ने प्रयोजनका अनलाइन तथा विद्युतीय व्यापार र घरेलु सप्लाईजस्ता थोरै बजारीकरणका तरीका छोडेर अरूका आकर्षक विक्रीकक्षको व्यवस्थापन गर्नुपर्छ । वस्तु वा सेवालाई विभिन्न सञ्जालमा र विक्रीकक्षमा पुर्याउन सुरक्षित माल सामान ढुवानीको व्यवस्था गर्नुपर्छ । विक्री कक्ष आकर्षक र सफा हुनुपर्छ । नियमित तरीकाले निश्चित समयमा खोल्ने र बन्द गर्ने गर्नुपर्छ ।
बजारीकरणको आखिरी तथा सबैभन्दा महत्त्वपूर्ण क्रियाकलाप विज्ञापन हो । विज्ञापन भनेको उद्यमीले आफ्ना उत्पादित वस्तु र सञ्चालित सेवावारे विभिन्न कथ्य तथा श्रव्यदृश्य सामग्रीहरू पत्रपत्रिका, पाम्लेट पुस्तिका, पोस्टर, साइन बोर्ड, टेलिफोन, टीभी, एफएम आदि माध्यमबाट उपभोक्तालाई सुसूचित गराउनु, लोभ्याउनु र वस्तु वा सेवा उपभोग गर्न अभिपे्ररित गर्नु हो । छोटकरीमा भन्नु पर्दा यो कारोबार गर्ने वस्तु र सेवाको प्रचारप्रसार हो । कतिपय उद्योग व्यवसायहरूले आफ्नो उद्योगको कुल वार्षिक सञ्चालन खर्चको एक चौथाइभन्दा बढी अंश विज्ञापनमा मात्र खर्च गर्छन् । त्यसैले त उद्योग व्यवसायका विज्ञापन डिजाइनरहरू आफ्नो छुट्टै पहिचान बनाएर व्यवसायीका रूपमा स्थपित हुन सकेका छन् ।
अत: उद्योगको सफलता औद्योगिक उत्पादनको बजारीकरणकै सफलतामा भर पर्ने भएकाले व्यवसायीले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ र विक्रेताका रूपमा वा विक्री प्रवर्द्धनमा राम्रो तालीमप्राप्त कामदार खटाउनुपर्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।