काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पुस १३ गतेदेखि १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद शेयर विक्रीमा ल्याउने भएको छ ।
कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो । सो समयमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट कम्पनीले विक्री गर्न लागेको हो ।
लिलामी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले पुस २९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । यी शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
इच्छुक खरीदकर्ताहरूले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं, सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं र लक्ष्मी सन्राइज बैंकको विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, नेपालगन्ज, सुर्खेत, धनगढी र चरिकोटबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
यी सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।