आम चुनावपछि, नेपाल सङ्घीयताको कार्यान्वयनको सङ्क्रमणकालीन चरणमा छ । हामी नयाँ संविधानलाई सङ्घीय शासन प्रणालीमार्फत जनताको जीवनमा रूपान्तरित गर्दछौं । संविधानले समाजवादउन्मुख लोककल्याणकारी राज्यको विकासका आधारहरू प्रदान गरेको छ । धेरै मानवीय आवश्यकताहरूलाई मौलिक हकद्वारा सुनिश्चित गरिएको छ । सङ्घीय शासन प्रणालीले सरकारको आ–आफ्नो तहमा शासनका वैधानिक औजारहरू (ऐन नियमावली, निर्देशिका) बनाउँदै छ । तर सँगसँगै जनआकाङ्क्षाअनुरूप गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बाध्यता पनि छ । व्यवस्था परिवर्तन भए पनि एकात्मक राज्यको केन्द्रीकृत मानसिकता राज्यका सबै अङ्गमा देखिन छाडेका छैनन् ।
यो परिवर्तन र रूपान्तरणका निम्ति महत्वपूर्ण अवरोध हो । मानसिकता परिवर्तन नभै आफैले ल्याएको भए पनि नयाँ प्रणाली स्थापित गर्न सकिँदैन । सुखी नेपाली समृद्ध नेपाल त्यसै सम्भव छैन । यसको निम्ति आफ्नो परिवर्तनसँगै पूर्वाधारको विकास, उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक वृद्धि र वितरणमा न्याय, उत्पादनमा सबैको आफ्नो क्षमताअनुसारको सहभागिता, राज्यबाट सबैलाई समान अवसर तर कमजोर समुदाय वर्ग/क्षेत्रका निम्ति सकारात्मक विभेद, आधारभूत स्वास्थ्यमा सबैको पहुँच र कम आय भएका वर्ग र आय आर्जन गर्न सक्षम नभएका समुदायहरूलाई पनि कुनै पनि रोगबाट मर्न नपर्ने स्थितिको सुनिश्चितता र भाषण गर्न मात्रै सक्ने शिक्षा होइन कि सोच्न, विश्लेषण गर्न र कुनै काम गर्न सक्ने रूपान्तरणकारी शिक्षामा सबैको र प्राविधिक शिक्षामा धेरैको पहुँच आवश्यक छ । यी लक्ष्यहरू चुनौतीरहित छैनन् ।
अल्पविकसितबाट विकासशील हुँदै विकसित देशमा पुग्ने सोपानको आरोहण सबैको निम्ति चुनौतीपूर्ण हुन्छ नै । तर इतिहासको विभिन्न कालखण्डमा विभिन्न देशले डटेर यी चुनौतीहरूको सामना गरेर आजको स्थितिमा आइपुगे । हामी पनि उनीहरूको विकासपूर्वको अवस्थाभन्दा खराब स्थितिमा छैनौं र आजलाई हामी विकास र समृद्धिको अभियानको प्रस्थान बिन्दु बनाउन सक्छौं ।
यो समय विकास र समृद्धिको प्रस्थानमा बिन्दु हुनसक्ने केही बलिया आधारहरू छन् । पहिलो आधार हो हिजोसम्म कल्पना नगरिएको एउटै राजनीतिक दलको अत्यधिक बहुमतको सरकार जसले आवश्यक पर्दा संसद्मा दुई तिहाई पुर्याउन सक्छ ।
दोस्रो, एउटै राजनीतिक दलको सङ्घ, प्रदेश र अधिकांश स्थानीय सरकारमा वर्चस्व जसले सङ्घीय नीति र कार्यक्रमहरूको प्रदेश र स्थानीय तहसँग तालमेल सम्भव बनाउँछ, हरेक तहका सरकार एउटै दिशामा हाँकिन सक्छ ।
तेस्रो, विकासको निम्ति आवश्यक पूर्वाधारहरूको सन्तोषजनक अवस्था–विद्युत्को उपलब्धता, पूर्व पश्चिम उत्तर दक्षिण सडक सञ्चालन, सञ्चार सञ्जाल र छिमेकी ठूला बजार ।
चौथो हो, विप्रेषणको पूँजीमा रूपान्तरित हुने सम्भावाना र सोबाट स्वदेशमा उत्पादन र रोजगारी बढ्ने विश्वास । पाँचौं, स्वदेशीहरूको बढ्दो लगानी गर्ने चाहना र विदेशी लगानीको निम्ति बन्दै गरेको वातावरण । छैठौं हो जल, जमीन, जङ्गल र खनिज पदार्थको उपलब्धता । र सातौं यी सबैलाई संयोजन गर्न सक्ने दृढ इच्छासहितको लोकप्रिय नेतृत्व ।
माथि उल्लिखित बलिया भौतिक र अन्य विकासका आधारहरू हुँदाहुँदै पनि नेतृत्वका अगाडि ठूला चुनौतीहरू पनि छन् । यी चुनौतीका चाङहरूमध्ये भ्रष्टाचार पहिलो चुनौती हो । यसले विकास र सार्वजनिक सेवा प्रवाहमा हुने लगानीको ठूलो अंश व्यक्तिको पोल्टामा पु¥याएको छ । परिणामस्वरूप कि विकास हुन सकेको छैन, सेवा प्रवाह हुन सकेको छैन, यी भएका छन् भने पनि गुणस्तरहीन छन्, टिकाउ छैनन्, भ्रष्टाचारको कारण उपभोक्तावादी संस्कृति बढेको छ र सामान्य व्यक्तिलाई पीडा दिएको छ । खुसीले कर तिर्न मानिस तयार छैनन्, विकास साझेदारहरू सरकारमार्फत सहयोग दिन अनकनाइरहेका छन् । त्यसैगरी बिचौलियाहरूको विगविगी दोस्रो चुनौती हो । खास गरेर बिचौलियाहरूका कारण किसान र अन्तिम उपभोक्ता दुवै भारमा छन्, किसानको मिहिनेत उठ्न सकेको छैन, उपभोक्ता मूल्यवृद्धिको मारमा छन् । तेस्रो चुनौती हो सत्तासँग निकट सेवा प्रदायक, व्यवसायी/उद्योगीको कल्याणकारी नीतिहरू रोक्ने दबाब र चौथो चुनौती हो, राज्यका सबै अङ्गलाई एउटै विकास र समृध्दिको एउटै मिशनमा ल्याउनु ।
विद्यमान चुनौती र अवसरको बीचमा काम गर्दै, विकास र समृद्धिको अभियान हाँक्नु र सफलताका सिँढीहरू टेक्दै विकासशील देशमा रूपान्तरित हुँदै एक/डेढ दशकमै विकसित देशको श्रेणीमा पुग्नुको विकल्प हामीसँग छैन । असफल हुने सुविधा छैन र कुनै बहानाबाजी गर्ने छूट पनि छैन । ठूलो आस्था र विश्वासको धरोहर ढल्यो भने त्यो उठाउन धेरै वर्ष लाग्ने छ र मुलुक गन्तव्यहीन भएर निराशाको भुमरीमा रुमल्लिई रहने छ र यस्तो अवस्थामा अराजकता, असुरक्षा, हिंसा र दरिद्रताको कहालिलाग्दो भयावह स्थिति पनि उत्पन्न हुन सक्नेछ ।
त्यसैले सबै राजनीतिक दलको नेपालको विकास र समृद्धिको निम्ति ऐक्यबद्धताले मात्रै पुग्दैन यो अभियानलाई कमजोर पार्ने, तुहाउने र थला पार्ने षड्यन्त्र चिर्न पनि सबै दल मिलेर काम गर्नुपर्ने बाध्यता छ ।
नाजायज कामको विरोध र खबरदारी गरौं तर जायज कामको निम्ति खुल्ला दिलले साथ देऔं । अवसरको सदुपयोग गरौं र हामीले बिर्सनै नहुने कुरा के हो भने हाम्रो शासन प्रणाली शैशव अवस्थामा छ, तङ्ग्रिन बाँकी छ, बल पस्न बाँकी छ ।
त्यसैले हाम्रा हरेक निर्णय विवेकपूर्ण हुन्न । तिनीहरूको प्रभावको पूर्वानुमानपछि मात्र कार्यान्वयन होस् । उनका कमजोरी उछाल्नेभन्दा पनि रचनात्मक सुझाव, सुपाच्य शैलीमा दिने सल्लाह, सुधारिने मौका दिने र समृद्धिको निम्ति सकारात्मक वातावरण तयार गरौं । समयले अवसर विरलै दिन्छ, नगुमाऔं ।
(नेपाल अर्थशास्त्री हुन् ।)
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.