मुलुक सङ्घीय संरचना कार्यान्वयन गर्ने अभ्यासमा छ । नेपालको संविधान २०७२ जारी भएपश्चात् पुराना ऐनहरूलाई विस्थापित गर्ने क्रमले तीव्रता पाएको छ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा विधेयकहरूको ताँती लागेको छ । विद्यमान ऐनहरूको सङ्घीय ढाँचाको राज्य प्रणालीसँग मेल नखाएको र तिनमा भएका कतिपय व्यवस्था आजको समाज सुहाउँदो नभएको कारणले समेत नयाँ ऐनहरू ल्याउनुपरेको बुझ्न सकिन्छ ।
सङ्घीय राज्य प्रणाली हुनुअघि बनेका ऐनमा अनुगमनदेखि जिल्लाको सम्पूर्ण प्रशासनिक कामको जिम्मा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिइएको थियो । तर नयाँ संविधान जारी भएपश्चात् त्यसमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता छ । गत भदौ १ देखि मुलुकी देवानी (संहिता) ऐन २०७४, मुलुकी अपराध (संहिता) ऐन २०७४, फौजदारी कसूर ऐन २०७४ जस्ता ऐनहरू कार्यान्वयनमा आइसकेका छन् ।
अहिले पनि सरकारले नियमनका निम्ति चाहिने दर्जनौं ऐनहरू सङ्घीय संसद्मा दर्ता गरिसकेको छ । असोज ३ भित्र सरकारले सबै प्रकारका कानूनहरू बनाउनुपर्ने बाधात्मक व्यवस्था संविधानमा रहेकाले पनि ऐनहरू धमाधम बन्नेक्रम जारी छ । यसले मुलुकको नियमन प्रणालीमा ठूलो प्रभाव पर्ने देखिन्छ । हुन त यसअघि नियमनका निम्ति कानूनहरू नबनेका होइनन् । कानूनहरू त बने तर, कागजमा मात्रै । त्यस्तो अवस्था पुनः दोहोरिने हो कि भन्ने चिन्ता भने अझै छ ।
नियमनका निम्ति कानूनहरू बन्ने तर कार्यान्वयन नगर्ने परिपाटी अब भने रहनु हुँदैन । मुलुकमा कानून कार्यान्वयन गर्न हिजोका दिनमा हामी कहाँ चुक्यौं यसको गहिरिएर समीक्षा गर्न जरुरी छ । कानूनहरू बनाउने तर संयन्त्रको अभावमा कार्यान्वयन हुन नसक्ने हिजोको परिपाटी अन्त्य गर्न जरुरी छ ।
यातायात
सरकारले चैत २४ गते यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्यको घोषणा ग¥यो । सिण्डिकेटको विरुद्ध सरकारले चालेको कदममा जनताको साथ रह्यो । अन्ततः यातायात कम्पनीहरू दर्ता हुन थाले । तर, यातायात क्षेत्रमा खासै सुधार देखिन थालेको आम नागरिकले अनुभूति गर्न पाएका भने अझै छैनन् । यातायात क्षेत्रको नियमनका लागि विद्यमान कानूनहरू, सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ हुन् । सरकारले यिनै कानूनलाई २०६० मा संशोधन गरेको थियो । त्यतिबेलाको संशोधन अपर्याप्त रहेको भन्दै पुनः २०७४मा थप संशोधन गरी कार्यविधि निर्देशिका जारी भएको छ । नयाँ व्यवस्थाअनुसार सञ्चालकहरू अनिवार्य रूपमा विभागमा पञ्जीकरण हुनुपर्ने भएको छ । तर, यस सम्बन्धमा यातायात व्यवसायीले अटेर गरेको देखिन्छ । यातायात व्यवस्था विभागले केही समयअघि सार्वजनिक गरेको तथ्याङ्कमा जम्मा ३ सय ३५ कम्पनीमात्रै यस्तो पञ्जीकरणमा गएका छन् । यसरी सरकारले नियम ल्याए पनि सही रूपमा कार्यान्वयन हुन नसकेको देखिन्छ ।
स्वास्थ्य
स्वास्थ्य क्षेत्र सुधारका आवाजहरू धेरै समयदेखि उठ्दै आएका छन् । तर, मुलुकको स्वास्थ्य क्षेत्र अझै सुध्रिन सकेको छैन । नागरिकले भनेअनुसारको सेवासुविधा सरकारी अस्पतालबाट पाउन सकिरहेका छैनन् । सरकारी अस्पतालमा सरकारले खटाएका डाक्टर बस्नै मान्दैनन् । नागरिक स्वास्थ्यमाथि वर्षौंदेखि खेलबाड भइरहेको छ । नेताहरू औषधिउपचार गराउन सरकारी खर्चमा विदेश धाउने गरेका छन्, तर नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन उनीहरूको ध्यान पुगेको देखिन्न ।
पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा उपचारको क्रममा डाक्टरहरूले चरम लापरबाही गरिदिँदा उपचारका क्रममा नागरिकले अकालमै ज्यान गुमाउने घटना पनि बढिरहेका छन् । यस्ता समस्याहरूलाई समेत सरकारले सम्बोधन गर्न नयाँ ऐनको विधेयक संसद्मा प्रस्तुत गरेको छ ।
कृषि
मुलुकको करीब ६४ प्रतिशत घरपरिवार कृषि पेशामा संलग्न छन् । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार राष्ट्रिय रोजगारीमा यस क्षेत्रको योगदान ६१ दशमलव ५ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशत रहेको सन्दर्भमा गरीबी न्यूनीकरण, ग्रामीण रोजगारी, खाद्य तथा पोषण सुरक्षा, व्यापार सन्तुलन एवम् देशको समग्र आर्थिक विकासमा यस क्षेत्रले प्रत्यक्ष प्रभाव पारेको छ । समावेशी आर्थिक वृद्धिको मेरुदण्डको रूपमा रहेको यस क्षेत्रले रोजगारी र महिला सहभागिता साथै दिगो पर्यावरणीय विकासमा समेत टेवा पु¥याउने भएको कारण यस क्षेत्रले उच्च प्राथमिकता पाउँदै आएको छ ।
संविधान प्रदत्त खाद्यसम्बन्धी अधिकारलाई सुनिश्चित गर्दै कृषि क्षेत्रको समग्र विकासको मार्गदर्शकका रूपमा रहेको कृषि विकास रणनीतिले परिकल्पना गरेअनुसार कृषि उत्पादन र उत्पादकत्वको वृद्धि, कृषिक्षेत्रको विविधीकरण, व्यवसायीकरण र कृषि वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न जरुरी छ । बढ्दो श्रम शक्तिको पलायनबाट सृजित कृषि मजदूरको अभाव र आपूर्तिका समस्याहरू समेतलाई सम्बोधन गर्न आवश्यक छ ।
देशको भौगोलिक परिवेश, तुलनात्मक लाभ र बाली विशेषअनुसारको विशेष कृषि उत्पादन क्षेत्रहरूमार्फत कृषि उत्पादन, प्रशोधन र बजारीकरण गरिनुपर्छ । कृषिमा व्यवसायीकरण, यन्त्रीकरण र औद्योगीकरणमार्फत कृषि पेशालाई सम्मानजनक बनाई आय तथा रोजगारी सृजना, गरीबी न्यूनीकरण जरुरी छ । अझैपनि कृषकहरूले सहजरूपमा रासायनिक मल पाउन सक्ने अवस्था छैन । कृषिजन्य वस्तुहरूको निकासी तथा ढुवानीमा समस्या छ । यस्ता समस्या छिटै हल गर्न राज्यले आवश्यक नीति र कानूनहरूको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
उद्योग–वणिज्य
मुलुक समृद्ध हुन उचित लगानीको वातावरण सृजना हुन जरुरी छ । स्वदेशी र विदेशी लगानी आकर्षित गरी औद्योगिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको बाटोमा लैजानुपर्ने आजको आवश्यकता हो । स्वदेशी स्रोतसाधन र प्रविधिको उपयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी वृद्धि गर्दै कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा वृद्धि गर्ने उद्देश्यका साथ औद्योगिक विकासका कार्यक्रम राज्यले सञ्चालन गरेको छ, तर त्यो पर्याप्त देखिन्न ।
सरकारले औद्योगिक उत्पादनमा गुणस्तरीयता कायम गर्न आवश्यक कदम चाल्न जरुरी देखिन्छ । त्यस्तै, श्रम नीति थप उद्योगमैत्री बनाउन, सञ्चालित उद्योगहरूलाई उत्पादन तथा उत्पादकत्वका दृष्टिले प्रतिस्पर्धी बनाउन, रुग्ण उद्योगलाई पुनःस्थापना गर्न समेत सरकारले जोड दिन जरुरी छ । गुणस्तरीय उत्पादन नहुनु, वस्तु तथा बजार विविधीकरण नहुनु, सुमधुर श्रम सम्बन्ध नहुनु जस्ता कारणले व्यापारघाटा बढ्दै गएको छ । वाणिज्य क्षेत्रमा देखिएका समस्यालाई हल गर्दै सरकारले नेपाली वस्तुले लाभ लिन सक्ने अन्तरराष्ट्रिय बजारको खोजी गर्न जरुरी छ । त्यस्तै, विशेष आर्थिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन, विलासिताका वस्तुहरूको उच्च आयातलाई निरुत्साहित गर्न, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्दै उत्पादन र व्यापार बढाउनतर्फ राज्यका नीतिहरू केन्द्रित हुनुपर्छ ।
पर्याप्त पूर्वाधार विकास गर्न र व्यापार कूटनीतिको प्रभावकारिता वृद्धि गर्न समेत राज्य चुकिरहेकाले यसतर्फ ध्यान दिन जरुरी छ ।
ऊर्जा
नेपालको लागि जलविद्युत् नै ऊर्जाको महŒवपूर्ण एवम् भरपर्दाे स्रोत हो । नेपालको संविधानले जन–सहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको बहुउपयोगी विकास गर्ने नीतिगत व्यवस्था गरेको छ । ऊर्जा तथा जलस्रोत क्षेत्रको दिगो विकास, संरक्षण तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रको कार्यलाईविशिष्टीकरण गरीे ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय लक्ष्य हासिल गर्न योगदान पु¥याउन सरकारले कार्यक्रम ल्याएको छ, तर नीतिगत सरलीकरणलाई राज्यले ध्यान दिन सकेको छैन । राष्ट्रिय योजना आयोगका अनुसार हाल कुल जलविद्युत् जडान क्षमता १ हजार ४५ मेगावाट रहेको छ । विद्युत्मा जनसङ्ख्याको पहुँच ८७ प्रतिशत एवम् ६६ केभी वा सोभन्दा माथिको विद्युत् प्रसारण लाइनको कुल लम्बाइ ३ हजार ४ सय ९६ किलोमिटर पुगेको छ । विद्युत्को बढ्दो मागलाई पूर्ति गर्दै मुलुकको आधुनिकीकरण तथा औद्योगिकीकरणका लागि जलविद्युत्का साना, मझौला तथा ठूला आयोजनाहरूलाई प्राथमिकतामा राज्यले राख्न जरुरी छ । साथै, राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याउन कठिन भएका र छरिएर रहेका विकट ग्रामीण बस्तीहरूमा ऊर्जाको पहुँच तथा सुरक्षा सुनिश्चितता गर्दै दिगो विकास लक्ष्यबमोजिम सबैका लागि दिगो ऊर्जाको अवधारणा, जलवायु परिवर्तनको असर न्यूनीकरण, लैङ्गिक समानतालगायतका अन्तरराष्ट्रिय प्रतिबद्धताहरू कार्यान्वयन गर्नसमेत सरकार प्रतिबद्ध हुन जरुरी छ ।
विद्युत् उत्पादन, प्रसारण र वितरण लाइन आयोजनाहरूको निर्माणमा कम्पनी र परामर्शदाता कम्पनीहरूको चरम लापरबाही हुने गरेको छ । काममा ढिलाइ गर्ने प्रवृत्तिलाई सरकारले निरुत्साहित गर्न जरुरी छ । आयोजनाहरूको सन्दर्भमा जग्गा प्राप्ति तथा मुआब्जा वितरणमा कठिनाइ, लाभ लागतको समुचित बाँडफाँटसम्बन्धी नीतिगत व्यवस्थाको कमी, नवीकरणीय ऊर्जाको क्षेत्रमा अपेक्षाकृत लगानी हुन नसक्नु जस्ता समस्याहरू विद्यमान छन् । यतातर्फ पनि राज्यको ध्यान पुग्न जरुरी छ ।
मुलुकको आधुनिकीकरण र औद्योगीकरणसँगै तीव्र वृद्धि हुन थालेको जलविद्युत्को माग पूरा गर्न सकिएन भने मुलुक समृद्ध हुन सक्दैन । आयोजना सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायबीच समन्वय गरेर सरकारले विद्यमान समस्या पूरा गर्नुपर्छ । जलविद्युत्, उत्पादनमा निजीक्षेत्रको योगदान सीमित रहन दिनुहुँदैन । यसका निम्ति राज्यले अविलम्ब ठोस प्रयास गर्न आवश्यक छ ।
यातायात, स्वास्थ्य, कृषि, ऊर्जा, उद्योग, वाणिज्यमा देखिएका उल्लिखित समस्या, चुनौतीलाई समग्रमा हल गर्न र नियमन गर्न बलियो संयन्त्रको आवश्यक देखिन्छ । राज्यले संयन्त्रलाई बलियो बनाउन ध्यान दिनुपर्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.