दुई तिहाइभन्दा बढी मतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ महीने कार्यकाल सम्पन्न गरेको अवसरमा ‘प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसाल्दै सुशासन र विकासको आधारशिला तयार पार्न सक्षम रहेको’ दाबी गरेका छन् । साथै, आगामी दिनमा परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । नयाँ संविधानको कार्यान्वनयका लागि गरिएका तीनै चरणको निर्वाचनपछि देशमा राजनीतिक स्थिरताको माहोल बनेको छ । नेकपाको अध्यक्षसमेत रहेका ओलीका लागि देशको विकास र समृद्धिको दिशामा काम गर्ने यो दुर्लभ अवसर हो । ७ सय ५३ स्थानीय तह, ६ ओटा प्रदेश र सङ्घमा नेकपाको दुई तिहाइ मतको सरकार हाँक्न पाउनु इतिहासमा जो कोही प्रधानमन्त्री र दलका लागि अकल्पनीय अवसर हो ।
फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले छिमेकी देशहरू भारत (चैत २३–२५) र चीन (असार ५–१०)को पालैपालो भ्रमण गरिसकेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई प्रधानमन्त्रीले दुवै देशसँग भएका संयुक्त वक्तव्यमा समेत समावेश गराएर समृद्धिको ‘ब्राण्ड’ नै बनाउन सफल भएका छन् । चीन र भारतबाट रेल ल्याउने सहमति गरेका उनले दक्षिणी भूभागबाट नेपालसम्मै पानीजहाज चलाउने महत्त्वाकाङ्क्षी योजनामा दिलोज्यान दिएर लागिपरेका छन् । चैत १६ मा सरकारले देशको आर्थिक अवस्था धराशयी रहेको भन्दै पहिलो पटक श्वेतपत्र जारी गरेको थियो, जसमा अघिल्लो सरकारका कारण राज्यले प्रदान गर्नुपर्ने आधारभूत सेवाहरूको गुणस्तर कमजोर रहेको, सेवा प्रवाह सरल, सुलभ नभएको, राज्यसंयन्त्रका अवयवहरू खुकुलो भएको आरोप लगाइएको थियो । सरकार गठनको ६ महीनापछि पनि अवस्था भने उस्तै छ ।
आम जनता, उद्योगी व्यवसायी, पेशाकर्मी, फरक राजनीतिक आस्था भएका नेता कार्यकर्ताहरू सरकारी गतिविधिबाट सन्तोष मान्ने अवस्थामा छैनन् । सुशासनविना समृद्धिको अभियान सफल हुन्न । देशमा सुशासनको अवस्था छ कि छैन भनेर मापन गर्न केही आधारहरूलाई हेर्नुपर्ने हुन्छ ।
जनमुखी एवम् पारदर्शी सरकार
सरकारले संसद्मा दर्ता गरेका र पारित भएर आएका कानूनलाई लिएर उद्योगी, व्यवसायी, पत्रकार, सर्वसाधारण सबै त्रसित छन् । संविधानले दिएका अधिकारसँग बाझिएर केही कानून लागू गरिँदै छ । सूचनाको हक र केही मौलिक हकको विरुद्धमा कानून बनेपछि सञ्चारकर्मी, निजीक्षेत्र, चिकित्सा क्षेत्र आदि संशोधनको माग राख्दै सरकारको विरोधमा छन् । जनताप्रति उत्तरदायी हुने सरकारले आफ्ना गतिविधि लुकाउने गरी सूचनाको हकमाथि पनि केही नियन्त्रण गर्ने प्रयास गरेको छ । यसले सरकारका काम पारदर्शी छन् छैनन् भनेर हेर्न कठिनाइ पर्नेछ । यो अवस्थालाई सरकारको नियन्त्रणमुखी अभ्यासका रूपमा धेरैले विश्लेषण गर्छन् ।
कानूनको परिपालना र दण्डहीनताको अन्त्य
डा.गोविन्द केसीको अनशनलाई लिएर सरकारले जुम्ला अस्पतालभित्रै पसेर दमन गर्यो, देशमा कुनै ठूला आन्दोलन नै नभएको अवस्थामा सरकारले माईतीघरमण्डला लगायतका स्थानलाई निषेधाज्ञा घोषणा गर्दा विरोध शुरू भयो । भक्तपुरमा ११ वर्षीय बालक अपहरण प्रकरणमा पक्राउ परेका अपराधीलाई बसेको कोठाबाट पक्राउ गरी प्रहरीले दोहोरो भीडन्तमा मारिएको भन्दै इन्काउण्टर ग¥यो, कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा अपराधीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु र केही घाइते बने । राज्यबाटै निम्त्याइएका दण्डहीनताका उदाहरण हुन् यी । जनताको रक्षक बन्ने सरकार आफै दण्डहीनतालाई प्रश्रय दिन थालेपछि प्रश्न उठ्न थालेको छ । कानूनको पालना गर्न छोडेर तर्साउने र नियन्त्रणमा राख्ने प्रयास गर्न थालेपछि सरकारविरुद्ध सडक, संसद् र सञ्चारमाध्यममा विरोध हुन थालेको छ ।
असार २३ मा विमानस्थलबाट उड्ने समयमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई रोकेर प्रधानमन्त्री कार्यालय पु¥याउनु, गृहमन्त्रीको आदेशमा ट्रमा सेण्टरका डाक्टरलाई मन्त्रालयमा लगेर धम्की दिनु, भदौ ८ मा थाइल्याण्डमा हुने एक कार्यक्रममा जान लागेका नागरिकलाई विना कारण विमानस्थलबाट फर्काउनु सरकारको हुकुमी शासनको अभ्यास हो । जनताप्रति अनुदार बन्दै गएपछि आम नागरिक सरकारसँग त्रसित हुनुपर्ने अवस्था आएको छ ।
भ्रष्टाचाररहित समाजको निर्माण
प्रधानमन्त्री ओलीले बारम्बार भन्ने गर्छन्, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ यही सोमवार उनले ट्विट गर्दै भने, ‘भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा अरू कसैले गहन रूपमा ल्यायो भने भ्रष्टाचारविरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामीप्यवाद केही चल्नेछैन ।’ तर, अवस्था उल्टो छ । ओली सरकारले ल्याएको चालू आवको बजेटले निर्वाचन क्षेत्र विकास कोषका नाममा सांसदलाई करोडौं रकम विनियोजन गरेर शुरूमै भ्रष्टाचारको बीउ रोपिसकेको छ । ७ सय ८१ ओटा स्वायत्त सरकार बनेपछि त्यहाँबाट हुने संस्थागत र व्यक्तिगत भ्रष्टाचारको दर उच्च छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०१७ को भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा १ सय ८० ओटा देशमध्ये नेपाल ३१ अङ्कसहित १ सय २२औं स्थानमा छ । एशियाली मुलुकमा बङ्गलादेश र अफगानिस्तानभन्दा नेपाल केही सुध्रिएको अवस्थामा छ । भ्रष्टाचारको मूल स्रोत राजनीति भएको छ । यसको आडमा सिंहदरबारदेखि गाउँगाउँसम्म संस्थागत रूपमै भ्रष्टाचार हुँदै आएका छन् । ट्रान्सपरेन्सी इण्टनेशनल नेपालका उपाध्यक्ष डा.रामदयाल राकेशले अझै पनि नेपाल भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा नाजुक रहेको बताए । ‘सुशासन र सदाचार नीतिमा नेपाल सधैं पछि पर्दै आएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले गर्दिनँ र हुन दिन्नँ भने पनि देशमा भ्रष्टाचार बढिरहेको छ, सरकारी सेवा प्रवाह झनै अन्योलको अवस्थामा छ । सङ्घीयताका कारण सरकारबीच समन्वयको अभाव छ । देशभर भइरहेका घटनालाई हेर्ने हो भने विधिको शासन छैन भन्दा पनि हुन्छ ।’
आर्थिक अवस्था
सरकारले वर्षभर उठाएको राजस्वले चालू खर्च नै नधान्ने अवस्था छ । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । ८ खर्ब ४५ अर्बको चालू खर्चका लागि सरकारले ३० अर्ब ऋण र ८७ अर्ब अनुदानमार्फत स्रोत जुटाउनुपर्ने अवस्था छ । सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । तर, सरकारी खर्च प्रणाली र निजी क्षेत्रलाई विश्वासमा लिएर गर्ने काममा पछाडि परेको छ । २०२२ मा विकासशील र २०३० मा विकसित राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य हासिल गर्न हरेक वर्ष झण्डै १८ खर्ब रुपैयाँ हाराहारी लगानी गर्नुपर्ने हुन्छ । यसका लागि स्वदेशकै स्रोतले एक तिहाइ पनि पुग्दैन । व्यापारघाटाको परिपूर्तिका लागि वैकल्पिक व्यवस्था केही पनि उपलब्ध छैन । अर्थतन्त्रको एउटा आधार पूँजीबजार लगातार ओरालो लागिरहेको छ ।
देशमा हुने औपचारिक अर्थतन्त्रको आकारभन्दा अनौपचारिक अर्थतन्त्रको आकार ठूलो रहेको सबै निकायको स्वीकारोक्ति छ । तर, यसलाई नियन्त्रणका लागि उचित कदम चालेको पाइँदैन । देश धनी हुन देशका जनता पनि धनी हुनु पर्दछ । अहिलेको अवस्थाका देशका २१ प्रतिशत जना गरीबीको रेखामुनि छन् । अर्थ मन्त्रालयका अनुसार विगत ५ वर्षको तथ्याङ्क हेर्दा प्रत्यक्ष वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत पनि प्रवाह हुन सकेको छैन । नेपालको पछिल्लो ५ वर्षको बजेटलाई हेर्ने हो भने ६४ प्रतिशत चालू खर्च र जम्मा २१ प्रतिशत मात्रै पूँजीगततर्फ बजेट विनियोजन हुने गरेको छ । पूँजीगत खर्चको बजेट पनि ७० प्रतिशतभन्दा बढी हुन सक्दैन । यही प्रणाली र संरचनाबाट समृद्धिको सपना अझै टाढा रहन्छ ।
लगानीको अवस्था
देशभित्रैबाट ठूला परियोजना र उद्योगहरूको लागि लगानीको वातावरण नभएकाले आर्थिक विकास र समृद्धिका लागि वैदेशिक लगानी आवश्यक पर्दछ । विदेशी लगानीकर्ताले नेपालमा लगानीको वातावरण, अवस्था र चुनौतीका बारेमा विभिन्न प्रतिवेदन अध्ययन गर्ने गर्दछन् । अन्तरराष्ट्रिय परिदृश्यमा नेपालमा लगानीको वातावरण त्यति उत्साहजनक नरहेको विश्व बैङ्कले प्रकाशित गर्ने ‘डुइङ बिजनेश इण्डेक्स’ले देखाउँछ । नेपाल लगानीको क्षेत्रमा विश्वमा १ सय ५औं स्थानमा छ । यस्तो अवस्थामा नेपालमा लगानी भित्र्याउन धेरै मेहनत गर्नुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी विदेशी पूँजी लगानी बढाउनुपर्ने समयमा लगानीकर्ता यहाँको जोखीम नहटुञ्जेल पर्ख र हेरको अवस्थामा छन् ।
निजीक्षेत्रले देशको अर्थतन्त्र चलायमान बनाए पनि यसको आकार सानो छ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष (उद्योग, वाणिज्य) किशोरकुमार प्रधानले अहिलेको अवस्थामा लगानीकर्ताले सुरक्षित महसूस गर्ने वातावरण नरहेको बताएका छन् । ‘लगानीको वातावरण बनाउन धेरै बाधाहरू फुकाउनु पर्नेछ । स्थानीय सरकारको मनपरी कर, ऐन कानून, अनुगमनका नाममा आतङ्क, वैदेशिक लगानी ल्याउन एकद्वार प्रणालीको अभाव, झण्झटिलो सरकारी प्रक्रिया र भ्रष्टाचारका कारण लगानी गर्ने अवस्था नै छैन,’ प्रधानले भने । अहिलेको सरकारले निजीक्षेत्र मैत्री भनेर मीठा कुरा गरे पनि व्यवहारले सन्तोषप्रद अवस्था नरहेको उनको भनाइ छ । सरकारले देशमै उत्पादन बढाउने खालको खाका बनाउन पनि नसकेको प्रधानको गुनासो छ ।
निजीक्षेत्रका असन्तुष्टि
नेपालले दिगो विकासका लागि राखेका लक्ष्यहरू भेट्न निजी क्षेत्रबाट उद्योग, ऊर्जा, यातायात, आवास, पूर्वाधार, कृषिलगायतका क्षेत्रमा आवश्यक लगानीको ६० प्रतिशत लगानी गर्नुपर्ने अवस्था छ । तर, सरकारले अहिले लिएको नीतिले निजीक्षेत्रलाई साथमा लिएर लगानीको वातावरण बनाउने भन्दा तर्साउने र औद्योगिक क्षेत्रलाई सरकारीकरण गर्ने प्रयत्न गरेको पाइन्छ । नेपाली सेनालाई सडक खन्नेदेखि उद्योग खोल्नेसम्मका अधिकार दिनु त्यसैको उदाहरण हो । यसले निजीक्षेत्रलाई हतोत्साही बनाएको छ । सरकारको भिजन हेर्दा उत्साह देखिन्छ तर, व्यवहारमा निजीक्षेत्र हतोत्साही भइरहेको नेउवा महासङ्घका उपाध्यक्ष प्रधानले बताए । सङ्घीय सरकारहरूबीच समन्वय नहुँदा द्वन्द्व बढेको, व्यवस्थापन गर्न नसकेको, मनपरी कर उठाइएको अलमलको अवस्थाले लगानीको वातावरण बिग्रिँदै गएको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बताए । सरकारले यस्ता अवरोध हटाउन र लगानीका लागि विश्वासको वातावरण बनाउन तत्काल कदम चाल्नुपर्ने अग्रवालको भनाइ छ ।
विकासमा गति
देशमा निर्माणाधीन ऊर्जा र अन्य क्षेत्रका ठूला आयोजनामा सरकारले अनुगमन गरी काममा तीव्रता दिएको छ । देशभरका तुइन विस्थापनका लागि काम हुनु, ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बनाउनका लागि भारतीय प्रधानमन्त्री मोदीबाट उद्घाटन गराउनु सकारात्मक कदम हुन् । तर, बूढीगण्डकी आयोजना, काठमाडौं–हेटौंडा सुरुङ मार्ग, चीनसँग जोडिएको तातोपानी–खासानाकाको सञ्चालन, हुलाकी राजमार्गलगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाहरूमा काम हुन सकेको छैन । राजधानी काठमाडौंकै खाल्डाखुल्डी पुर्न नसकेर सरकारको आलोचना भइरहेको छ ।
आशाका किरण
सरकारको इच्छाशक्ति बलियो हुनुपर्दछ । प्रधानमन्त्री ओलीले जनतामा त्यही इच्छाशक्ति बढाउने काम गरेका छन् । बेथितिको अन्त्य र सुशासनका सवालमा सरकारले केही सकारात्मक कदम पनि चालेको छ । सरकारका विभिन्न निकायमा हुने औचित्यहीन खर्च र अनावश्यक विदेश भ्रमण रोक्ने निर्णय, सरकारी खर्च मितव्ययी र पारदर्शी बनाउन देशभर परिपत्र गरिएको छ । राजदूत नियुक्तिका सम्बन्धमा मापदण्ड तर्जुमा गर्नु, अध्यागमन र कन्सुलर सेवा प्रवाहमा प्रविधिको प्रयोग गरी सेवा सुविधालाई चुस्त बनाउने प्रयास गर्नु, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई दैनिक २१ घण्टा सञ्चालन गर्नु, भारतबाट चारओटा हवाई रुटको प्रयोगका लागि सहमति हुनु, काभ्रेमा आन्तरिक विमानस्थल बनाउनेदेखि पोखरा, भैरहवा र निजगढलाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन सरकारले तत्परता देखाउनु सकारात्मक छ ।
जनताका गुनासा सुन्न र तत्काल सम्बोधन गर्न हेल्लो सरकार, सबै मन्त्रालय र विभागको सामाजिक सञ्जाल, विभिन्न सेवामा अनलाइन पद्धतिको सेवा शुरू, बैङ्कबाट तलब दिने व्यवस्था गर्नु, विदेशमा रहेका श्रमिकको समस्या समाधानमा तदारुकता र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन गरिएका प्रयास सरकारले चालेका सकारात्मक कदम हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.