मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमवार (आज) विश्वासको मत पाएका छन् ।
उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी)को ७ र हाम्रो नेपाली पार्टीका १ गरी ५६ जना सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेशसभामा रहेका ११० सदस्यमध्ये बहुमतका लागि पनि कम्तीमा ५६ जनाको मत आवश्यक पर्छ ।
त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत छ । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् ।
संघमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले गत चैत २२ गते विश्वासको मत फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको ३० दिन यही चैत २२ गते पुग्दैछ ।
यसअघि पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थनमा उनी २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।
संघ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ चैत १० गते विश्वासको मत लिएका थिए ।