काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा गैरकानूनी ढंगले सस्तो मूल्यमा ७९ वर्षका लागि भाडामा दिई संगठनलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा संगठनका तत्कालीन अध्यक्ष रिता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यस विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुरोधमा काठमाडौं जिल्ला अदालतले बिहीवार पक्राउ पुर्जी जारी गरेको हो ।
वैद्य कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । उनी २०४७ देखि २०७७ सम्म बाल संगठनको अध्यक्ष थिइन् । उनीलगायत संगठनका विभिन्न पदाधिकारीले व्यावसायिक घराना विशाल ग्रूपलाई संगठनको जग्गा भाडामा दिँदा संस्थालाई नोक्सानी हुने गरी दिएको आरोप लागेको छ । उक्त जग्गामा विशाल ग्रूपले बृहस्पति विद्या सदन नामको विद्यालय सञ्चालन गरिरहेको छ । विद्यालयको प्रिन्सिपल, सञ्चालक समिति सदस्य र शेयर लगानीकर्ताविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।
सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले करीब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहितका आरोपितमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर काम अघि बढाइएको बताए । ‘जाहेरी दर्तासँगै आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान शुरू भएको छ,’ बोगटीले आर्थिक अभियानसँगको कुराकानीमा भने ।
गत वैशाख १४ गते बाल संगठनले बृहस्पतिसँगको सम्झौता गैरकानूनी भएको निष्कर्षसहित सम्झौता भंग गरेको र त्यसमा संलग्नहरूलाई कारबाही माग गर्दै सीआईबीमा जाहेरी दिएको थियो । सोही जाहेरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको बोगटीले बताए ।
बाल संगठनका अध्यक्ष विद्या न्यौपानेले मासिक ९ लाख रुपैयाँ भाडा तोकेर २१३२ सालसम्मका लागि पूर्वपदाधिकारीहरूले बृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता
गरेको बताइन् । बाल संगठनको स्वामित्वमा रहेको २९ रोपनी ५ आना जग्गा लिजमा दिँदा बृहस्पति विद्या सदन र व्यापारिक घरानासँग मिलेर पूर्वपदाधिकारीहरूले आर्थिक लाभ लिएको न्यौपानेको
आरोप छ । वैशाख १४ मा बसेको बाल संगठन सञ्चालक समितिको बैठकले पुरानो सम्झौता रद्द गर्ने निर्णय गरेको उनले बताइन् ।
बृहस्पतिले बाल मन्दिरसँग सम्झौता गरेर जग्गा लिई पुन: राई स्कूललाई ‘सबलिज’मा दिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार नेपाल बाल संगठन र बृहस्पति विद्या सदनबीच २०४९, २०५३, २०५८, २०५९ र २०७२ मा न्यून भाडा दरमा सम्झौता भएको छ ।
२०७२ मा तत्कालीन अध्यक्ष रिता सिंहले पुरानो सम्झौता बाँकी हुँदै अर्को सम्झौता गरेको भेटिएको छ । पुरानो सम्झौता १७ वर्ष बाँकी हुँदै समय थपेर ४३ वर्षसम्मका लागि सम्झौता गरिएको अध्यक्ष न्यौपानेले बताइन् । ‘विक्रम संवत् २१३२ सम्मका लागि ७९ वर्षसम्म कायम हुने गरी सम्झौता गरेको देखिन्छ,’ उनले आर्थिक अभियानसँगको कुराकानीमा भनिन् ।
२०५९ भदौ ११ मा गरेको सम्झौताको अवधि २०८९ सालसम्म कायम थियो । तर, सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पदाधिकारीहरूले पुरानो सम्झौता अवधि समाप्त भएपछि मात्र लागू हुने गरी पुन: ३८ वर्ष थप कायम गरेका हुन् ।
बाल संगठनका तत्कालीन पदाधिकारी रिता सिंह र बृहस्पति विद्या सदनका पदाधिकारी पुरुषोत्तमराज जोशीसमेतले मिलेमतो गरेर २०७२ साउन ३ मा पूरक सम्झौता गरेको आरोप बाल मन्दिरको वर्तमान नेतृत्वले लगाएको छ । आरोपीहरूविरुद्ध बाल संगठनका तर्फबाट ठगी मुद्दामा कारबाही गर्न प्रहरीमा जाहेरी परेको थियो ।
२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले बाल मन्दिरको नाममा ११९ रोपनी जग्गा प्रदान गरेको थियो । बाल मन्दिरको जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा नै गराइएन । विभिन्न चरणका लिज सम्झौताअनुसार ३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर शुरू र अन्तिम ५/५ वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो । सम्झौताको म्याद २०८९ सालसम्म थियो । तर, म्याद सकिनु १७ वर्षअगावै २०७२ जेठ २१ मा संगठनले प्रतिवर्गफिट ६ रुपैयाँ कायम गरी बाल मन्दिरको २९ रोपनी ४ आना बृहस्पतिलाई भाडामा दिने सम्झौता गर्यो ।
ठगी कसूरमा अनुसन्धानमा तानिएका व्यक्तिहरू
- नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रिता सिंह वैद्य
- नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ
- नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ
- नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य
- नेपाल बाल संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह
- नेपाल बाल संगठनका तत्कालीन अख्तियारप्राप्त कार्यवाहक महासचिव श्यामकुमार आले
- नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त कार्यवाहक महासचिव सुवासकुमार पोखरेल
- नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ
- नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान
- नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने
- नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही
- नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का सञ्चालक प्रवीणराज जोशी
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का तत्कालीन सञ्चालक मुरारिनिधि तिवारी
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का अध्यक्ष पुरुषोत्तमराज जोशी
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक श्रद्धा संघाई ।
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक अभिनव सिंघानिया
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक सिद्धार्थ केडिया
- बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) का सञ्चालक कीर्तिप्रसाद पाण्डे