काठमाडौं । बैंकमा राखेको पैसा डुब्दै छ भन्ने हल्लाले सर्वसाधारण तर्सिन थालेपछि नेपाल राष्ट्र बैंकले निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै आश्वस्त पारेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक वित्तीय संस्थामा ढुक्कसँग कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
विभिन्न व्यक्ति तथा समूहको अभिव्यक्ति तथा आन्दोलनका कारण बैंक, वित्तीय संस्थाहरूको विश्वसनीयतामा नै असर पर्न थालेपछि वित्तीय क्षेत्रको नियमन गर्दै आएको केन्द्रीय बैंकले यसबारे पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको हो । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक, वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उसले बैंक, वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको देखिएको स्पष्ट पारेको छ ।
आफूले बैंक, वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बेहोरा अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ, ‘बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’
केन्द्रीय बैंकले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई भनेको छ– बैंक, वित्तीय संस्थामा रहेको निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुहोस् ।
केन्द्रीय बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरूको पूँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू मापदण्डअनुरूप नै छन् । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचक तथा कर्जा, संस्थागत सुशासनलगायत अन्य विषयमा कुनै समस्या देखिएमा केन्द्रीय समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंक, वित्तीय संस्थाहरू अन्तरराष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यास समेतका आधारमा दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ । लघुवित्त वित्तीय संस्थाहरूले अत्यधिक शोषण गरेको भन्दै शुरू भएको आन्दोलन पछिल्लो समय ऋण नतिर्ने भन्दै बैंक, वित्तीय संस्थाविरुद्ध केन्द्रित हुन थालेको छ । यसैगरी ठूला वाणिज्य बैंकमा रहेका निक्षेप नै असुरक्षित रहेको आशयका अभिव्यक्ति आउन थालेपछि केन्द्रीय बैंकले विज्ञप्ति जारी गरेको हो ।
यसअघि आइतवार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले छुट्टै प्रेस विज्ञप्ति जारी गरी वित्तीय प्रणालीमाथि धावा बोलिएको बताएका थिए । उनीहरूले बैंकप्रति अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नसमेत माग गरेका छन् ।
यसअघि पनि ती संस्थाहरूले बैंकिङ क्षेत्रविरुद्धको अराजक गतिविधि नियन्त्रण गर्न माग गर्दै आए पनि सरकारले हालसम्म कुनै कारबाही अघि बढाएको छैन । त्यस्ता व्यक्तिलाई कारबाही गर्ने चेतावनी भने सरकारका मन्त्रीहरूले बारम्बार दिने गरेका छन् ।