मुलुकको अर्थिक गतिविधिमा केन्द्रित रहेको आर्थिक अभियान राष्ट्रिय दैनिकमार्फत औद्योगिक राष्ट्रहरूमा आर्थिक समृद्धिको कुञ्जीका रूपमा स्थापित भइसकेको बौद्धिक सम्पत्तिका विभिन्न पक्षलाई विगत ७/८ वर्षयता अनवरत रूपमा पाठकवृन्दसमक्ष उजागर गरिसकेको बेहोरा निवेदन गर्न चाहन्छु । उक्त अवधिमा धेरै पाठक वर्गलाई ती लेखमा पहुँच नरहेर वा जाँगर नभएर वा समयको अभावले वा अलि क्लिष्ट विषय भएकाले पनि दृष्टि नपुगेको हुन सक्छ । त्यस्ता पाठक वर्गका लागि यसपटक धेरै लेखमार्फत सम्प्रेषण गरेको विषयलाई संक्षेपमा एउटै लेखमा प्रस्तुत गर्ने जमर्को गरेको छु । के हजुरहरूले ४/५ मिनेट खर्च गर्न सक्नुहुन्छ ?
कुरो नचपाई भन्ने हो भने कवि लेखनाथ पौडेलले ‘....कौडीमा पनि मिल्कन्छ भिल्लाका देशमा मणि’ भने जस्तै अति महत्त्वपूर्ण विषय भएर पनि नेपालमा उचित स्थान पाउन नसकेको विषय बौद्धिक सम्पत्ति हो । समग्र नेपालीको सरोकारको विषय भएर पनि यहाँ अत्यन्तै सीमित व्यक्तिको मात्र जानकारीमा रहेको विषय पनि बौद्धिक सम्पत्ति नै हो । यहाँ हरेक व्यक्तिसँग वा समुदायसँग प्रचुर मात्रामा भएर पनि आफूसँग यस्तो सम्पत्ति छ भनेर धेरैलाई अनुभूत हुन नसकेको विषय पनि बौद्धिक सम्पत्ति नै हो । हो, यो ब्रह्म जस्तै अमूर्त छ, त्यस्तै शक्तिशाली पनि छ र त्यस्तै सर्वव्यापी पनि छ । यो कुरा बोध हुन सकेमा कुनै व्यक्तिले आफूलाई कुवेर सम्झन बेर लाग्दैन । आखिरमा के हो त त्यस्तो बौद्धिक सम्पत्ति ? सम्पत्तिका बारेमा त केही न केही थाहा छ । पहिले सम्पत्ति के हो भन्ने कुरा अझ राम्रो बुझेपछि बौद्धिक सम्पत्तिको चर्चा गर्न सजिलो होला कि ?
मुलुकमा परम्परागत ज्ञानको प्रचुरता रहेको, विभिन्न विषयका हस्तलिखित ग्रन्थ र आयुर्वेदिक ज्ञान प्रशस्त रहेकाले यिनीहरूको पनि बौद्धिक सम्पत्ति विधाअन्तर्गत उचित संरक्षण एवम् उपयोग गरिनु आवश्यक छ ।
हाम्रो उपभोगवादी समाजमा सम्पत्ति वास्तवमा प्रत्येक व्यक्तिले आर्जन गर्न, सञ्चय गर्न वा उपभोग गर्न सधैं लालायित हुने विषय हो । सम्पत्ति भनेको केही न केही मूल्य भएको कसैको स्वामित्व भएको र कुनै न कुनै उपयोगिता वा प्रयोजन भएको वस्तु हो । कुनै वस्तु सम्पत्ति हुनलाई उक्त तीनओटा शर्त पूरा हुनैपर्छ । हरेक महत्त्वको वस्तु सम्पत्ति हुनैपर्छ भन्ने छैन । खुला हावा सबैलाई चाहिन्छ । यो कसैको सम्पत्ति होइन तर आफ्नो मेहनत खर्च गरेर कसैले जारमा भरेको हावा वा अक्सिजन उसको सम्पत्ति हुन्छ । रुपैयाँ–पैसा, सुन–चाँदी, घर–जग्गा मोटर आदि आँखाले प्रत्यक्ष देख्न सकिने भएकाले मूर्त सम्पत्ति हुन् । तर, कतिपय सम्पत्ति अमूर्त पनि छन् जस्तो कि एउटा किताब मूर्त सम्पत्ति हो । यो जसले पनि देख्न र किन्न सक्छ तर त्यसभित्रको अभिव्यक्ति अमूर्त सम्पत्ति हो । त्यसलाई महसूस वा मनन गर्न सकिन्छ देख्न सकिँदैन, त्यो बौद्धिक सम्पत्ति हो र मूर्तभन्दा धेरै मूल्यवान् हुन्छ । त्यसमा सम्बद्ध स्रष्टाको एकाधिकार हुन्छ ।
यात्रामा तिर्खा लाग्दा तपाईं पानीको बोटल किन्नुहुन्छ । तपाईं पानीसँग मतलब राख्नुहुन्छ तर अन्य कुनै अमूर्त (बौद्धिक) सम्पत्तिसँग पहिलो दृष्टिमा कुनै सरोकार राख्नुहुन्न । बोटल किन्दा तपाईं सिलबन्दी भए नभएको हेर्नुहुन्छ र लेबल टाँसे नटाँसेको पनि हेर्नुहुन्छ । अनि तपार्ईं एक लिटरको बोतललाई तुरुन्त २० रुपैयाँ तिर्न तयार छन् । के तपाईंले २० रुपैयाँ पानीका लागि दिनुभएको हो ? तपाईंले शायद हो भन्न सक्नुहुन्छ तर त्यसो नहुन पनि सक्छ । त्यही बोटल यदि विक्रेताले पानी उही बोटलमा यथास्थितिमा राखी सिलबन्दी तोडेको वा लेबुल उप्काएर फालेको
अवस्थामा ल्यायो भने तपाईं एक कौडी दिन पनि तयार हुनुहुन्न । आखिरमा त्यो २० रुपैयाँ मूल्य सृजना केले गर्यो ? सिलबन्दी गरी लेबुल टाँस्ने सुझबुझले । त्यही लेबुल ट्रेडमार्क नामको बौद्धिक सम्पत्ति हो ।
बौद्धिक सम्पत्ति भन्नाले मानव मस्तिष्कका चिन्तन मननबाट भएका सृजनाहरू जस्तो साहित्यिक, कलात्मक र वैज्ञानिक कार्य, कलाकारितासम्बन्धी प्रस्तुतिहरू, ध्वन्यांकन र प्रसारण कार्य, नयाँ विधि वा नयाँ वस्तुका आविष्कार, वैज्ञानिक खोज, औद्योगिक डिजाइन, भौगोलिक सङ्केत, व्यापार चिह्न तथा सेवाचिह्नलगायत पहिचानमूलक चिह्नहरू, व्यावसायिक गोपनीयता, अस्वस्थ प्रतिस्पर्धा निवारण कार्यलगायत नवीनतम र सृजनामूलक क्रियाकलापहरू बुझ्न सकिन्छ । हाल एकीकृत सर्किट वा त्यसको डिजाइन, परम्परागत ज्ञान, लोक संस्कृति, जैविक विविधताहरू तथा बोटबिरुवाका नयाँ जातहरूलाई पनि बौद्धिक सम्पत्तिअन्तर्गत समावेश गरिएको छ । मुलुकमा परम्परागत ज्ञानको प्रचुरता रहेको, विभिन्न विषयका हस्तलिखित ग्रन्थ र आयुर्वेदिक ज्ञान प्रशस्त रहेकाले यिनीहरूको पनि बौद्धिक सम्पत्ति विधाअन्तर्गत उचित संरक्षण एवम् उपयोग गरिनु आवश्यक भएको छ ।
अरूको बौद्धिक सम्पत्ति अधिकारको सम्मान गरौं, आफ्ना उपयोगी बौद्धिक सम्पत्ति संरक्षण गरौं । बौद्धिक सम्पत्तिको अन्तरराष्ट्रिय संरक्षणका लागि पहल गरौं, हाम्रा परम्परागत ज्ञान र जैवी साधनहरूको सूचीकरण गरौं । बौद्धिक सम्पत्तिबारे जनचेतना बढाऊँ, प्रविधि हस्तान्तरणमा विशेष जोड दिऊँ ।
बौद्धिक सम्पत्तिको सृजनामा वैज्ञानिक, लेखक, साहित्यकार, कलाकार, गायक, श्रव्यदृश्य सामग्रीका उत्पादकलगायत स्रष्टाले आफ्नो जीवन समर्पण गर्ने भएकाले उनीहरूको विशेष स्थान रहेको हुन्छ र कानूनत: उनीहरू बौद्धिक सम्पत्ति अधिकारका धनी हुन्छन् । उनीहरूको पूर्वस्वीकृतिविना कसैले आर्थिक लाभ प्राप्त गर्ने क्रियाकलापमा त्यस्तो बौद्धिक सम्पत्ति चलन गर्न पाइँदैन । साथै आम नागरिक, बौद्धिक वर्ग, लगानीकर्ता, उत्पादक तथा उपयोगकर्तालाई पनि यसको विशेष महत्त्व रहेको छ । आज बौद्धिक सम्पत्तिले असीम ज्ञानको भण्डार वृद्धि भएको छ,, अनगिन्ती उपभोग्य वस्तुहरू एवम् मनोरञ्जनका साधन जुटेका छन्, उद्योग व्यवसाय सञ्चालन भएका छन्, प्रविधिको विकासले विश्वको मुहार परिवर्तन गरेको छ । अत: यसमा योगदान पुर्याउने स्रष्टालाई बिर्सन हुँदैन र उनीहरूको कामलाई सम्मान गर्नुपर्छ ।
बौद्धिक सम्पत्ति परम्परागत रूपले प्रतिलिपि अधिकार र औद्योगिक सम्पत्ति गरी दुई प्रकारको बताइएको छ । तर, वर्तमान सन्दर्भमा परम्परागत ज्ञानजस्ता यीबाहेक नयाँ स्वरूपका बौद्धिक सम्पत्ति पनि उदय भएका छन् । औद्योगिक सम्पत्तिअन्तर्गत ट्रेडमार्क (व्यापार चिह्न र सेवा चिह्न), व्यापारिक नामजस्ता विभिन्न प्रकारका चिह्न, आविष्कार र पेटेन्ट, भौगोलिक संकेत, उपयोगी नमूना, औद्योगिक डिजाइन र गैरप्रतिस्पर्धी कार्य नियन्त्रणजस्ता विषय पर्छन् । हालको सन्दर्भमा यसअन्तर्गत व्यावसायिक गोपनीयता र एकीकृत सर्किट ढाँचासमेत थपिएका छन् । हाल नेपालमा पेटेन्ट, औद्योगिक डिजाइन र ट्रेडमार्कले मात्र झीनो संरक्षण पाएका छन् ।
प्रतिलिपि अधिकार भनेको विभिन्न साहित्यिक, वैज्ञानिक, सांगीतिक र कलात्मक कार्यका स्रष्टाहरूलाई प्रोत्साहित गर्न निश्चित अवधिका लागि प्रदत्त एकलौटी कानूनी अधिकार हो । यस्ता कार्यमा पुस्तक पुस्तिका, संगीत, नाटक, श्रव्यदृश्य सामग्री विभिन्न कलाकारिता वास्तुकलाका डिजाइन, फोटोग्राफी, चित्रकला, वैज्ञानिक लेखरचना, कम्प्युटर प्रोग्राम आदि पर्छन् । तिनमा रहने एकलौटी अधिकार भनेको स्रष्टाले आफ्नो चाहना अनुसार रचनाको उत्पादन, पुनरुत्पादन, प्रसारण, संयोजन, अनुवाद, परिमार्जनजस्ता काम गर्ने र स्वीकृतिविना अरूलाई त्यस्तो काम गर्न निषेध गर्न सक्ने अधिकार हो ।
प्रतिलिपि अधिकारको अर्को विस्तारित स्वरूप सान्निध्य अधिकार हो । यसले प्रतिलिपि अधिकारलाई जनतासमक्ष उजागर गर्न मद्दत गर्छ । सान्निध्य अधिकार भनेको कुनै ध्वनि अंकनको कार्य, प्रसारणकार्य र प्रस्तुतीकरणको कार्यका लागि सरोकारवाला व्यक्तिलाई प्रदान गरिने कानूनी अधिकार हो । यी तीनै प्रकारका कार्य प्रतिलिपि अधिकारसँग सम्बद्ध रचनामा आधारित रहने भएकाले तिनलाई सान्निध्य अधिकार भनिएको हो । एकलौटी अधिकारको प्रयोग प्रतिलिपि अधिकारमा जस्तै हो ।
बौद्धिक सम्पत्ति अधिकार संरक्षणको औचित्य दुई युक्तिबाट स्थापित गर्न सकिन्छ : व्यष्टिपरक चिन्तन र समष्टिपरक चिन्तन । व्यष्टिपरक चिन्तनको दृष्टिकोणले बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने मूलभूत कारण सृजनशीलतालाई प्रोत्साहन गर्नु हो । यसको संरक्षणबाट वैज्ञानिक, अनुसन्धानकर्ता, लेखक, साहित्यकार, कलाकार, प्राविधिज्ञ, विभिन्न व्यवसायीजस्ता व्यक्तिहरूले आफ्नो सृजनामा एकलौटी कानूनी अधिकार स्थापित हुने हुँदा प्रत्यक्ष ढंगले फाइदा पाउन सक्छन् र तिनीहरूले थप नयाँ कुराहरू सृजनाका लागि लगानी गर्न सक्षम हुन्छन् । यदि उनीहरूसँग भएको मानसिक खुबीलाई जनसमक्ष उजागर गर्न सकिएन भने त्यस्ता अमूल्य निधि उनीहरूको मृत्युसँगै नष्ट भएर जान्छन् र समाजलाई ठूलो क्षति पुग्छ । अत: स्वस्फूर्त रूपमा उजागर गराउन उनीहरूका सृजना वा खुबीलाई उचित समयका लागि संरक्षण प्रदान गरिनुपर्छ ।
समष्टिपरक चिन्तनको दृष्टिकोणले बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने मूलभूत कारण समग्रमा मुलुकको सामाजिक लाभ अभिवृद्धि गर्नु हो । मुलुकको उत्पादन प्रणालीमा विभिन्न बौद्धिक सम्पत्तिको सदुपयोग गर्न सकेमा उपभोक्ताले पनि मनमोहक वा स्तरीय वस्तु र सेवा बजारबाट उपलब्ध गर्न र सन्तुष्टि प्राप्त गर्न पाउँछन् । बौद्धिक सम्पत्तिको फलस्वरूप मुलुकमा रोजगारी सृजना हुने, विदेशी लगानी बढ्ने, नयाँ उद्योगहरू स्थापना हुने, प्रविधिको विकास हुने, सांस्कृतिक निधि एवम् मानवीय मूल्य र मान्यताको जगेर्ना हुने, जीवनस्तर बढ्ने र उपभोक्ताको हित संरक्षण हुने भएकाले मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा ठूलो परिवर्तन आउँछ । व्यवस्थित रूपले यस्ता सम्पत्तिलाई अन्य आर्थिक क्षेत्रको अतिरिक्त खासगरी उद्योग व्यापारका क्षेत्रमा व्यापक रूपमा प्रयोग गरी मुलुकका सामाजिक तथा आर्थिक उद्देश्यहरू प्राप्त गर्न सकिन्छ ।
बौद्धिक सम्पत्ति अधिकार संरक्षण भनेको कुनै स्रष्टाले सृजना गरेको कुनै बौद्धिक सम्पत्तिलाई राज्यले कानूनी रूपमा एकलौटी हक प्रदान गर्नु हो । यस्तो अधिकार संरक्षण गर्न स्रष्टाले आफ्नो बौद्धिक सम्पत्तिलाई आवश्यकताअनुसार कानूनत: दर्ता गराएको वा प्रकाशन गराएको हुनुपर्छ । यसका लागि सरकारी कार्यालयहरूमा उद्योग विभाग र प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हुन् । बौद्धिक सम्पत्तिको कानूनी संरक्षणका लागि हाल मुलुकमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ क्रियाशील रहेका छन् । अन्तरराष्ट्रिय जगत्मा बौद्धिक सम्पत्ति अधिकारलाई मानवाधिकारका रूपमा स्वीकार गरिएको छ ।
अन्तरराष्ट्रिय जगत्मा बौद्धिक सम्पत्तिको संरक्षण व्यवस्थाका लागि तथा यस सम्बन्धमा भएका अन्तरराष्ट्रिय सन्धि–सम्झौताको पालना गराउन संयुक्त राष्ट्रसंघीय विशिष्ट एजेन्सीका रूपमा विश्व बौद्धिक सम्पत्ति संगठन खडा गरिएको छ । हालसम्म नेपाल विश्व बौद्धिक सम्पत्ति संगठन खडा गर्ने महासन्धि, औद्योगिक सम्पत्ति संरक्षणका लागि पेरिस महासन्धि, प्रतिलिपि अधिकार संरक्षणका लागि वर्न महासन्धिको सदस्य भइसकेकोे छ । साथै विश्व व्यापार संगठनमा पनि आबद्ध भइसकेको छ । कला प्रस्तुति, ध्वनि अंकन र प्रसारण सम्बन्धी रोम महासन्धिलगायत मेड्रिड सन्धि, लिस्बन सन्धि र पेटेन्ट सहयोग सन्धिहरूको सदस्यता लिने प्रक्रियामा रहेको छ । यसबाट हाम्रो देशका स्रष्टाहरूलाई अन्तरराष्ट्रिय जगत्मा बौद्धिक सम्पत्तिको संरक्षण गर्न खर्च निकै कम पर्ने छ र प्रक्रिया पनि सरल हुनेछ ।
बौद्धिक सम्पत्तिको सृजना, संरक्षण र उपयोग सम्बन्धमा आज हामीले भोग्नु परेका चुनौतीहरूमा जिम्मेवारपूर्ण बौद्धिक सम्पत्ति कार्यालयको खाँचो, जनचेतनाको कमी, अन्तरराष्ट्रिय मान्यताअनुसारको स्तरीय कानूनको अभाव, सुविधायुक्त तथा सेवाग्राहीमैत्री प्रशासनिक संयन्त्रको अभाव, नक्कल र संन्दिग्ध उत्पादन, पुरातन उत्पादन प्रणालीको बाहुल्य, उपयुक्त अध्ययन अनुसन्धान र कार्यगत रूपान्तरणको कमी, सृजनाशीलताका निम्ति सेवासुविधा र प्रोत्साहन कमी, समन्वयात्मक कार्य पद्धतिको अभाव आदि रहेका छन् । त्यस्तै विदेशमा बौद्धिक सम्पत्तिका संरक्षणका लागि अन्तरराष्ट्रिय पहुँच र खर्चको समस्या, दुर्बल संरक्षण स्तर र फितलो कार्यान्वयन, विदेशी कम्पनीको नेपालमा लगानी तथा प्रविधि हस्तान्तरणमा उदासीनता, आविष्कार र ज्ञान सम्बन्धमा बढी उदार सामाजिक मूल्यमान्यताहरू, यसतर्फ आम जन सरोकारको कमी तथा प्रतिभा पलायनजस्ता चुनौतीहरू रहेका छन् ।
अन्त्यमा पाठक वर्गसँग निवेदन छ : अरूको बौद्धिक सम्पत्ति अधिकारको सम्मान गरौं, आफ्ना उपयोगी बौद्धिक सम्पत्ति संरक्षण गरौं । बौद्धिक सम्पत्तिको अन्तरराष्ट्रिय संरक्षणका लागि पहल गरौं, हाम्रा परम्परागत ज्ञान र जैवी साधनहरूको सूचीकरण गरौं । बौद्धिक सम्पत्तिबारे जनचेतना बढाऊँ, प्रविधि हस्तान्तरणमा विशेष जोड दिऊँ । राष्ट्रका अत्यावश्यक क्षेत्रको पहिचान गरौं । हाम्रो सरोकारका सबै बौद्धिक सम्पत्ति समेटिएको कानूनको शीघ्र कार्यान्वयन गरौं ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाजका अध्यक्ष हुन् ।