काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।
असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालक समितिमा रिक्त रहेको पदमा बाँकी कार्याकालका लागि गरिएको दुई सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको छ ।
संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गर्नेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रस्तावलाई समेत कम्पनीले अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
२०६७/६८ सालमा २० प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीले त्यसपछिका वर्ष लगानीकर्तालाई लाभांश वितरण गरेको छैन । कम्पनीले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ ।