नयाँ दिल्ली (भारत) । भारतमा लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकै अग्रता देखिएको छ ।
मतगणना भइरहेका ५३५ सिटको प्रारम्भिक मतपरिणामअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सत्तारुढ एनडीए गठबन्धनले २९९ सिटमा अग्रता बनाएको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
यस्तै विपक्षी इन्डियन नेशनल कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन भने १९३ सिटमा अगाडि रहेकाे छ । अन्य पार्टी ४३ सिटमा अघि देखिएका छन् ।
कुन राज्यमा कसको अग्रता ?
प्रारम्भिक मतपरिणामअनुसार उत्तर प्रदेशमा ८० सिटमध्ये एनडीए ४३ स्थानमा अघि छ भने इन्डिया गठबन्धनले ३६ सिटमा अग्रता बनाएको छ । बिहारमा पनि एनडीएले नै अग्रता बनाएको छ । बिहारमा एनडीएले ३२ सिटमा अघि छ भने इन्डिया गठबन्धनले ७ सिटमा अग्रता बनाइरहेको छ ।
पश्चिम बंगालमा एनडीएले १७ सिटमा, इन्डिया गठबन्धनले ४ र अन्य पार्टीले २१ सिटमा अग्रता हासिल गरिरहेका छन् । गुजरातमा भाजपा २५ सिटमा अगाडि छ भने कांग्रेस १ सिटमा अग्रता बनाइरहेको छ ।
भारतमा गत अप्रिल १९ बाट सात चरणमा कुल ५४३ सिटका लागि निर्वाचन भएको थियो । एजेन्सीको सहयोगमा