दिल्ली। भारतीय शेयर बजार नियामक (सेबी) का करिब २०० कर्मचारीले बिहीबार मुम्बईस्थित बजार नियामकको मुख्यालयमा विरोध प्रदर्शन गरेका छन् । गत महिना सेबीका कर्मचारीहरूले अर्थ मन्त्रालयलाई पत्र लेख्दै नियामक निकायमा 'अत्यधिक दबाब' रहेको र यसले 'तनावपूर्ण वातावरण' निम्त्याएको बताएका थिए।
सेबीले आफ्नो बचाउ गर्दै अर्थमन्त्रालयलाई लेखेको पत्रमा सेबीमाथि लागेको आरोप र दाबीलाई 'गलत' भन्दै कर्मचारीको चिन्ता बाह्य प्रभावका कारण भएको उल्लेख गरेको थियो ।
त्यसपछि सेबीले एक प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको चिन्ता उच्च भाडा, भत्ताको माग र आन्तरिक कार्य सम्पादन समुहको आलोचना गरेको भन्दै कर्मचारीहरूलाई जवाफदेही हुन भनेको थियो । सेबी कर्मचारीका बारेमा गलत सूचना फैलाएको भन्दै सेबीका अध्यक्ष माधबी पुरी बुचको राजीनामा र प्रेस विज्ञप्ति तत्काल फिर्ता लिन कर्मचारीहरूले माग गरेका थिए ।
यसअघि बुचमाथी अडानी समूहकोअफशोर कम्पनीमा संलग्नता रहेको आरोप लागेको छ । अध्यक्ष बुचविरुद्ध जारी आरोपका बीच यो विरोध प्रदर्शन भएको हो । हिन्डेनबर्ग रिसर्च र विपक्षी राजनीतिक दलले बुचमाथि अडानी समूहसँग सम्बन्धित अफशोर फण्डमा लगानी गरेको आरोप लगाएका छन् । बुचले उक्त आरोपको खण्डन गरेका छन् । यसबाहेक, काँग्रेस पार्टीले बुचले सेबीमा सामेल भएपछि आईसीआईसीआई बैंकबाट आय प्राप्त गरिरहेको दाबी गरेको थियो। एजेन्सी
भारतीय शेयर बजार नियामकका अध्यक्ष बुचले अवैध आर्थिक लाभ लिएको भारतीय कांग्रेसको आरोप
भारतीय शेयर बजार नियामकका अध्यक्षको अडानी समूहको कम्पनीमा शेयर-हिन्डेनबर्ग