बलेफी (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा ‘२२ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा गत मंगलवार प्रतियोगिता सम्पन्न भएको हो ।
नेपालको जलयात्रा व्यवसायलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा र्याफ्टिङ र कायकिङमा प्रतिस्पर्धा गराइएको थियो । र्याफ्टिङ प्रतियोगितामा भोटेकोशी एडभेन्चर क्लब विजयी भएको थियो । यस्तै, र्याफ्टिङ स्टार द्वितीय र त्रिभुवन आर्मी क्लब ‘ए’ तृतीय भएको थियो ।
र्याफ्टिङतर्फ १४ टोली र कायाकिङतर्फ २७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।