चितवन। नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत्को बिल नतिर्ने ३ हजार ५०० भन्दा बढी ग्राहकको लाइन काटेको छ । केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा लामो समय महसुल बक्यौता भएका ३ हजार ५१७ ग्राहकको लाइन काटेको हो । ५ महीनाभन्दा बढी समयदेखि बिजुलीको महसुल नबुझाएका ग्राहकको मात्रै लाइन काटिएको केन्द्रले जानकारी दिएको छ ।
लाइन काटिएकामध्ये ३ हजार ४३६ जना ग्राहकसँग जरीवाना लिएर पुन: लाइन जोडिएको केन्द्रका प्रमुख इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए । जरीवानाबापत ६ करोड ४२ लाख ३ हजार ३५६ रुपैयाँ महसुल असुल गरिएको र पुन: जडान शुल्कस्वरूप २९ लाख १२ हजार रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।
प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावलीमा मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा विद्युत्को लाइन काट्न सक्ने व्यवस्था छ । समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्यलाई तीव्र बनाइएको उनले बताए । लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत जरीवाना तिर्नुपर्ने उनले जानकारी दिए ।
पुन: लाइन जोड्दा प्राधिकरणले थप ८४७ रुपैयाँ शुल्क लिने गरेको छ । मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाउँदा दुई प्रतिशत छूट पाउन सकिने व्यवस्था छ । महसुल अनलाइनबाट समेत भुक्तानी गर्न सकिने भएकाले अतिरिक्त समय र जरीवानाबाट बच्न उनले ग्राहकलाई आग्रह गरे । मिटर रिडिङ भएको आठौं दिनदेखि १५औं दिनसम्म बिलअनुसारकै महसुल भुक्तानी गर्नुपर्नेछ भने १६औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा पाँच प्रतिशत जरीवाना लाग्छ । मिटर रिडिङ भएको ३१औं दिनदेखि ४०औं दिनसम्म महसुल बुझाएमा १० प्रतिशत र ४१औं दिनदेखि माथि बुझाएमा २५ प्रतिशत जरीवाना लाग्ने प्राधिकरणको नियम छ ।