चितवन । भरतपुर महानगरपालिकाको भूउपयोग कार्यान्वयन समिति र भूउपयोग परिषद्ले गरेको घरजग्गा वर्गीकरणसम्बन्धी निर्णयको व्यवसायीले विरोध गरेका छन् । अवैज्ञानिक रूपमा जग्गाको वर्गीकरण गरिएको भन्दै चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडामा ज्ञापनपत्र बुझाएका छन् । समितिले आवासीय जग्गालाई समेत कृषियोग्य जमीनमा वर्गीकरण गरेको व्यवसायीले बताएका छन् । भरतपुर महानगरपालिकाको भूउपयोग कार्यान्वयन समितिले महानगरपालिकाका २९ ओटा वडामध्ये वडा नं ६ बाहेक १ देखि १२ वडालाई आवासीय क्षेत्र र अन्य वडालाई कृषियोग्य जमीनमा वर्गीकरण गर्ने निर्णय गरेको थियो ।
नारायणी घरजग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, वरिष्ठ उपाध्यक्ष हेमन्त केसी र लेखापढी कानून व्यवसायी एशोसिएशन, जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष विष्णुप्रसाद शर्मा लगायतको टोलीले कृषियोग्य जमीन वर्गीकरण गर्ने निर्णय भएका वडामा गएर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । टोलीले भरतपुर वडा नं ६, १३, १४, १५, १६ र २२ का अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष अधिकारीले समिति र परिषद्को निर्णय अव्यावहारिक र अवैज्ञानिक भएको बताए । ‘यो निर्णयमा हामी व्यवसायी मात्र होइन, महानगरका आम जनता र किसानको पनि विरोध छ,’ अधिकारीले भने, ‘यो निर्णय भरतपुरका जनताका लागि बेइमानी हो ।’
समितिले जग्गा व्यवसायी र जनताको प्रतिनिधित्वविना सीमित वडाध्यक्षको हस्ताक्षरमा एकलौटी निर्णय गरेको अधिकारीको आरोप छ । समिति र परिषद्ले भूउपयोग नियमावली २०७९ विपरीत ढंगबाट वर्गीकरण गरेको र मापदण्ड मिचेर समेत निर्णय गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् ।
समितिको निर्णय अनुसार सम्बन्धित वडामा न्यूनतम बाटोको मापदण्ड ८ मिटर र बाटोबाट ३५ मिटरसम्मलाई मात्र आवासीय क्षेत्र मानिनेछ । बाँकी जमीन कृषियोग्यमा राखिएको छ, जहाँ कुनै पनि आवासीय संरचना बनाउन पाइनेछैन ।
लेखापढी कानून व्यवसायी एशोसिएशनका उपाध्यक्ष शर्माले यो निर्णय जनता र कृषकको हितमा नरहेको बताए । ‘कुनै सरोकारवाला निकायसँग समन्वय नगरी गरिएको निर्णय मान्य हुनेछैन,’ शर्माले भने, ‘यो निर्णयले गरीब झन् गरीब र धनी झन् धनी हुन्छ ।’
व्यक्तिको जग्गाको पहिलो अधिकार स्वयं जग्गावाला हुने हुँदा जग्गावालाको इच्छा र आवश्यकता अनुसार वर्गीकरण हुनुपर्ने उनले बताए । व्यवसायीले भरतपुर महानगरपालिकाका सम्पूर्ण जग्गा आवासीय हुनुपर्ने र आवासीय जग्गामा पनि आवश्यकता अनुसार खेती गर्न पाउनुपर्नेमा जोड दिएका छन् । निर्णय संशोधन नगरे आफूहरूले संघर्षका कार्यक्रम ल्याउने व्यवसायीको चेतावनी छ ।
ज्ञापनपत्र बुझ्दै वडाध्यक्षहरूले आफूहरू जनता र किसानको हित विपरीत जान नसक्ने भन्दै आगामी कार्यपालिका बैठकमा यसबारे व्यापक छलफल गरिने बताएका छन् । साथै आवश्यकता अनुसार निर्णय संशोधन गरेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन् । निर्णयको विरोधमा आफूहरूले बाँकी वडामा ज्ञापनपत्र बुझाउने र महानगरपालिकाको कार्यालयमा समेत ‘डेलिगेशन’ जाने व्यवसायीले बताएका छन् ।