चितवन। उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमी लगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम गरेको छ । संघको आयोजना एवं जिआईजेड नेपालको प्राविधिक सहयोगमा भदौ ३० र ३१ गते कार्यक्रम गरिएको हो । उद्योगी व्यवसायीलाई कर तथा करका नीतिका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले कार्यक्रममा करसम्बन्धी व्यावहारिक समस्यालाई समाधानका विषयमा छलफल गरिएको बताए । कार्यक्रममा बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले व्यवसायीलाई समयमा नै कर तिर्न आग्रह गर्दै सम्बन्धित कर कार्यालयले पनि व्यवसायीलाई जरीवाना तिराउनेमा भन्दा पनि समयमा कर तिर्नुपर्नेमा सचेत गराउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले देशमा चोरी पैठारीको जालो भएको भन्दै कर प्रणालीलाई तहगत गराउनुपर्ने बताए । जिआईजेडका फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाइजर नविनलाल श्रेष्ठले आगामी दिनमा पनि व्यवसायीलाई अभिमुखीकरण गर्ने कामलाई निरन्तरता दिने बताए ।
संघका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले करविना राज्य समृद्ध हुन नसक्ने भन्दै राज्यले करको दर घटाउँदै, दायरा बढाउँदै लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने बताए । उनले करदाता र कर संकलनकर्ताको सम्बन्ध प्रगाढ भए कर संकलन गर्न सजिलो हुने बताए । आन्तरिक राजस्व कार्यालय, भरतपुरका कर अधिकृत गंगाराम अर्यालले करदाता शिक्षा कार्यक्रमले करदाताको कर तिर्ने मानसिकताको विकास हुने बताए ।