काठमाडौं । भारतले अन्य देशबाट आयात गरिने कच्चा भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलमा भन्सार बढाएपछि शून्य भन्सारको सुविधाका कारण नेपालबाट प्रशोधित भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढेको छ । भन्सार बढाए पनि पाम तेलको निर्यातमा भने गिरावट आएको भन्सार विभागले बताएको छ ।
भारतले गत सेप्टेम्बरको शुरुमै कच्चा भटमास, सूर्यमुखी तेल र पाम तेलमा लाग्दै आएको भन्सारदर शून्यबाट बढाएर २० प्रतिशत पुर्याएको थियो । तर, अन्य करसहित कच्चा तेल आयातमा लाग्ने जम्मा करको दर २७ दशमलव ५ प्रतिशत हुने भारतीय सरकारले बताएको छ । नेपाल–भारतबीच भएको व्यापार सन्धिअनुसार नेपालले शून्य भन्सारमा भारतमा सामान निर्यात गर्न पाउँछ । त्यसैको फाइदा उठाउँद नेपाली व्यापारीले यी तेल प्रशोधन गरी भारत निर्यात बढाएका हुन् ।
भन्सार विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा नेपालले भटमासको तेल ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको निर्यात गर्यो । गत आवको सोही अवधिमा यस्तो निर्यात ३६ करोड ३१ लाख रुपैयाँ बराबर थियो ।
उक्त अवधिको चालू आवमा प्रशोधित सूर्यमुखी तेलको निर्यात २ अर्ब ९७ करोड पुग्यो । सोही अवधिमा गत आवमा १४ करोड ८७ लाखको मात्र निर्यात भएको थियो । प्रशोधित पाम तेलको निर्यात गत आवको प्रथम ५ महीनामा २ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा चालू आवको प्रथम ५ महीनामा घटेर ८५ करोड २१ लाख रुपैयाँको मात्र भएको भन्सारको तथ्यांक छ ।
अहिले भन्सार बढाउनुअघि भारतले मूल्य नियन्त्रण गर्ने भन्दै यी वस्तुको कच्चा पदार्थमा शून्य भन्सार कायम गर्दा नेपाली प्रशोधित तेल उत्पादकहरूले तेल धेरै निर्यात गर्न सकेका थिएनन् ।
सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैंची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन् । भन्सार विभागका अनुसार मङ्सिर मसान्तसम्म ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६ दशमलव ५४ प्रतिशतले धेरै हो ।
चालू आवको ५ महीनामै पेट्रोलियम पदार्थ आयातमा १ खर्बभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार मङ्सिर मसान्तसम्म १ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मङ्सिरसम्म आइरन तथा स्टीलको आयात ५४ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ । विद्युतीय उपकरण र त्यसका पाटपुर्जाको आयातमा ४५ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । ४१ अर्ब रुपैयाँ बराबरकासवारीसाधन आयात भएको तथ्यांकमा देखिएको छ । साढे १९ अर्ब रुपैयाँ बराबरको तरकारी र तरकारीजन्य वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार पहिलो ५ महीनाको अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ३ प्रतिशत धेरै हो । अघिल्लो आवको मङ्सिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ ।
मङ्सिरसम्म नेपालको व्यापारघाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर रहेको देखिन्छ । व्यापारघाटा अघिल्लो आवको तुलनामा १ दशमलव ५२ प्रतिशतले मात्र बढेको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर धेरै हुँदा व्यापारघाटा धेरै नबढेको हो । अघिल्लो आवको मङ्सिरसम्म ५ खर्ब ७९ अर्ब रुपैयाँ हाराहारी व्यापारघाटा रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको अंश ८९ दशमलव ९८ प्रतिशत रहेको छ । निर्यातको अंश १० दशमलव शून्य २ प्रतिशत रहेको छ । निर्यातको अंश केही बढेको देखिन्छ । मङ्सिरसम्मको तथ्यांकअनुसार नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । यस अवधिमा भारतबाट नेपालले ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भारतमा ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग ३ खर्ब ५८ अर्ब रुपैयाँ बराबर व्यापारघाटा रहेको छ । चीनबाट नेपालमा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आएको छ । नेपालबाट चीनमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांकमा देखिन्छ ।
मङ्सिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आव २०८०/८१ को यसै अवधिको तुलनामा ४ दशमलव २१ प्रतिशत धेरै हो । आयात र निर्यात दुवैमा सुधार हुँदा यस वर्ष कुल वैदेशिक व्यापारको आकारसमेत बढेको देखिएको छ । गत आवको ५ महीनामा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार भएको तथ्यांकमा देखिन्छ ।