काठमाडौं । सरकारले विदेशी महको आयात अनुमति रोकिरहेकोमा भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उक्त प्रतिबन्ध फुकाइदिन सरकारलाई औपचारिक आग्रह गरेको छ ।
कम्पनीले गत भदौमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेख्दै मह आयात खुला गरिदिन आग्रह गरेको थियो भने हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि आयात अनुमति खुलाउन पत्राचार गरेको सम्बद्ध मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
स्वदेशी मह विक्री नभएर मौज्दात बढ्दै गएपछि सरकारले गत वैशाखमा मौज्दात नसकिएसम्मका लागि विदेशी महको आयात अनुमति रोक्न खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको थियो । त्यसपछि उद्योगी व्यवसायीले विदेशबाट मह आयात गर्न पाएका छैनन् ।
- कम्पनीले गर्यो, कृषि र वाणिज्य मन्त्रालयलाई पत्राचार
- गत वैशाखमा मौज्दात नसकिएसम्मका लागि विदेशी महको आयात अनुमति रोक्न खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिइएको थियो
- नेपाली मह उद्योगले चाहेअनुसारको गुणस्तरको नभएको र महँगो भएको डाबरको दाबी
- मह कच्चा पदार्थका रूपमा उपयोग गरिने हुँदा आफ्नो मापदण्डअनुसारको मह नभएमा उत्पादित वस्तु बिग्रन सक्ने डाबरको डर
- यद्यपि कम्पनीले हालसम्म ४५ मेट्रिक टन मह नेपाली किसानबाट किनिसकेको नेपाल मौरीपालन महासंघको दाबी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यले गत भदौमा डाबर नेपाललगायत केही उद्योगले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको अभाव भएको भन्दै विदेशबाट मह आयातमा सहजीकरण गरिदिन मन्त्रालयलाई पत्र लेखेको बताइन् । उनका अनुसार मन्त्रालयले पनि वर्तमान अवस्थामा स्वदेशी महको उत्पादन, मौज्दात र उद्योगलाई चाहिने कच्चा पदार्थको आवश्यकताका विषयमा अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटको संयोजकत्वमा समिति बनाएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले पनि डाबर नेपालले मह आयात खुलाउन आफ्नो मन्त्रालयलाई पत्र पठाएको बताए । उनका अनुसार स्वदेशी महको गुणस्तर र मूल्य माथि प्रश्न उठाउँदै डाबर नेपालले आफ्नो उत्पादनको कच्चा पदार्थका लागि स्वदेशी मह उपयुक्त नभएको भनेर आयात खुलाउन पत्र पठाएको हो ।
‘मन्त्रालयले पनि डाबर नेपाललाई नेपाली महसमेत किन्नुपर्ने प्रस्ताव गरेको छ । यद्यपि, डाबरले भने नेपाली मह उद्योगले चाहेअनुसारको गुणस्तरको नभएको र महँगो भएको भन्दै आएको छ । उसले भारतबाट सस्तो मूल्यमा मह आयात गर्ने गरेको छ,’ अधिकारीले आर्थिक अभियानसँग भने । ‘मह कच्चा पदार्थका रूपमा उपयोग गरिने हुँदा आफ्नो मापदण्डअनुसारको नभएमा उत्पादित वस्तु बिग्रन सक्ने र आफ्नो ब्रान्डबारे मानिसको सोचाइमा नराम्रो प्रभाव पार्नसक्ने खतरा रहेको डाबरको भनाइ छ ।’
डाबर नेपालले भने यस विषयमा प्रतिक्रिया दिन मानेन । यतिबेला स्वदेशी महको मौज्दात रित्तिसकेको छ भने नयाँ सिजनको मह उत्पादन हुने क्रम जारी रहेको नेपाल मौरीपालन महासंघले बताएको छ । विदेशी महको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेर गतवर्ष किसानले उत्पादन गरेको करीब ३ हजार २०० मेट्रिक टन मह खेर जाने अवस्था सृजना भएपछि महासंघको दबाबमा मन्त्रालयले आयात अनुमति रोकेको थियो ।
नेपालमा वार्षिक करीब ५ हजार मेट्रिक टन मह उत्पादन हुन्छ । तर, नेपाली बजारमा प्रत्येक वर्ष करीब ८ हजार मेट्रिक टन महको माग हुन्छ । मागभन्दा उत्पादन ३ हजार मेट्रिक टन कम भए पनि नेपाली मह बेच्नै मुश्किल पर्ने गरेको छ ।
महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले सरकारले गरेको प्रस्तावअनुसार डाबर नेपालले गतवर्ष मौज्दात रहेको महमध्येबाट १ सय मेट्रिक टन मह किन्ने सहमति गरेको बताए ।
उनका अनुसार उक्त सहमतिअनुसार डाबर नेपालले हालसम्म ४५ मेट्रिक टन मह नेपाली किसानबाट किनिसकेको र बाँकी मह किन्ने प्रक्रियामा रहेको छ । सरकारले बनाएको अध्ययन समितिका सदस्यसमेत रहेका घिमिरेले उद्योगी व्यवसायीले भारतबाट सस्तो मूल्यमा मह आयात गर्दा स्वदेशी किसान मर्कामा पर्ने गरेको बताए । ‘हाम्रो उत्पादन लागत प्रतिकिलो ४ सय रुपैयाँ छ । तर, उद्योगीले भारतबाट २ सय रुपैयाँमै आयात गर्छन् । सोही कारण हाम्रो मह बेच्न समस्या भएको हो,’ उनले भने ।
यदि, उद्योगीलाई आयात गर्न दिने हो भने पनि प्रत्येक ३ महीनामा १२५ मेट्रिक टनभन्दा बढी आयात गर्न दिनु हुँदैन । उद्योगधन्दा पनि चलायमान बनाउनुपर्ने हुँदा यदि आयात गर्नैपर्ने भएमा मौरी विकास केन्द्रको सहमति लिनुपर्ने नीति बनाउनुपर्छ,’ उनले भने ।
नेपाली उद्योगी व्यवसायीले भारत र न्यूजील्यान्डलगायत मुलुकबाट मह आयात गर्ने गरेका छन् । नेपालमा ४२ जिल्लामा मौरी पालन हुने गर्छ । ती जिल्लाबाट महासंघमा हालसम्म १३ हजार ८०० किसान संलग्न छन् ।