काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । कर्मचारीमा सुरक्षित गरिएको शेयरसमेत बाँडफाँटपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
यो आईपीओ विक्री अवधि छिटोमा चैत २७ गतेसम्मका लागि तोकिएको छ । सो मितिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि वैशाख ७ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओसमेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ ।
इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको परिचय :
निजी क्षेत्रका उद्यमीहरू मिलेर २०६५ साल फागुन ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भई यो कम्पनी सञ्चालनमा रहेको थियो । कम्पनीमा सर्वसाधारणलाई समेत सहभागी गराउने उदेश्यले २०७४ साल कात्तिक १४ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ ।
९८ जना संस्थापक सदस्यहरू रहेको यस कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा रहेको छ । कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दैलेख जिल्लाको नौमुलेमा रहेको छ । २०७१ साल जेठ २६ गते कम्पनीले विद्युत् उत्पादनको अनुमति प्राप्त गरेको थियो । कम्पनीले प्राप्त गरेको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि अब २५ वर्ष बाँकी रहेको छ ।
पूँजी संरचना :
यस कम्पनीको अधिकृत पूँजी ६० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रूपैयाँ छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ३८ करोड ८ लाख ३७ हजार ४०० रूपैयाँ कायम छ । सर्वसाधारणमा जारी हुने सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रूपैयाँ कायम हुुनेछ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
वित्तीय अवस्था :
२०७४ साल वैशाखदेखि द्वारी खोला जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन गर्दै आएको भएपनि कम्पनी अझै सञ्चित नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १२ करोड ३२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको हो ।
वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रूपैयाँ ६३ पैसा छ । चालू आर्थिक वर्ष २०७९/ ०८० मा कम्पनीले सञ्चित नोक्सानी घटाएर ८ करोड २९ लाख ७५ हजार र आगामी आर्थिक वर्ष २०८०/ ०८१ मा ३ करोड ८३ लाखमा झार्ने प्रक्षेपण गरेको कम्पनीले आर्थिक वर्ष २०८१/ ८२ मा भने ९६ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
सञ्चालक समितिको परिचय :
कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सौरभ अज्र्याल रहेका छन् । कम्पनीको संस्थापकतर्फको १ लाख ४२ हजारभन्दा बढी कित्ता शेयर स्वामित्व ग्रहण गरेका अध्यक्ष अज्र्यालसँग यस अघि बुटवल पावर कम्पनीमा पनि मानन संसाधन विभागमा काम गरेको अनुभव छ ।
कम्पनीको सञ्चालकहरूमा राजेन्द्र प्रसाद गौतम, संगिता शर्मा, सन्तन कुमार अज्र्याल र रन्जन कुमार शर्मा रहेका छन् । कम्पनीका सञ्चालकहरू जलविद्युत् क्षेत्रसँग अनुभवि रहेका छन् ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको आईपीओले कति पाउला मूल्य ?
धितोपत्र प्राथमिक बजारमा विक्री भएको कम्पनीको आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत हुनेछ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्नेछ ।
यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ६७ रूपैयाँ ६३ पैसा देखि अधिकतम प्रतिकित्ता २०२ रूपैयाँ ८९ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्