काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई विक्री गरेको आईपीओ आइतवार बाँडफाँट गरेको छ ।
सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणमा विक्री गरिएको १३ लाख ४६ हजार ९९३ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेकाले गोला प्रथाको माध्यमबाट आईपीओ बाँडफाँट भएको हो ।
हालको बाँडफाँट नीतिअनुसार उक्त शेयर १ लाख ३४ हजार ६९९ जना योग्य आवेदकले शेयर प्राप्त गरेका छन् । यी आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा बाँकी रहेको तीन कित्ता शेयर यीमध्येकै तीन जना आवेदकले थप एक कित्ताका दरले पाएका छन् । कम्पनीको आईपीओ पाउने आवेदकमध्ये तीन जनाले ११ कित्ता शेयर पाएका हुन् ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपीओमा कुल १२ लाख ५४ हजार ६ ओटा आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ११ लाख ४९ हजार १५१ ओटा आवेदक रीतपूर्वक भएको विक्री प्रबन्धकको भनाइ छ । कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि २७ गतेसम्म आईपीओ सार्वजनिक निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिसकेको छ । कर्मचारीमा सुरक्षित गरिएको शेयरसमेत बाँडफाँटपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।
कम्पनीको जलविद्युत उत्पादन केन्द्र दैलेख जिल्लाको नौमुलेमा रहेको छ । २०७१ साल जेठ २६ गते कम्पनीले विद्युत् उत्पादन अनुमति प्राप्त गरेको थियो । कम्पनीले प्राप्त गरेको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि अब २५ वर्ष बाँकी रहेको छ ।
आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १२ करोड ३२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको हो । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रूपैयाँ ६३ पैसा छ ।
कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ६७ रूपैयाँ ६३ पैसादेखि अधिकतम प्रतिकित्ता २०२ रूपैयाँ ८९ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ ।