काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीको भनाई छ । कर्मचारीमा सुरक्षित गरिएको शेयर समेत बाँडफाँट पछि कम्पनीले सामूहिक लगानीकोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिनेछ । छिटोमा विक्री अवधि चैत २७ गतेसम्म तोकेको कम्पनीले सो मितिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा आगामी वैशाख ७ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ समेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
उक्त कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।