काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि खरीद गरेको जस्तापाता विक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले २ वर्षपछि स्वीकृति पाएको छ । भूकम्पको बेला ल्याइएका ती जस्तापाता बजार मूल्यमा नै विक्री गर्नेगरी सरकारले स्वीकृति दिएको कर्पोरेशनले बताएको छ । भूकम्पलगत्तै २०७२ जेठको चौथो हप्तामा मन्त्रिपरिषद्को निर्णयअनुसार कर्पोरेशनले रू. ३० करोडमा ५० हजार बण्डल जस्तापाता भारतबाट आयात गरेको थियो । सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक भनी मन्त्रिपरिषद्ले कर्पोरेशनलाई जस्तापाता खरीद गर्न निर्देशन दिएको थियो । तर, सरकारी निकायले जस्तापाता प्रयोग नगरेपछि लामो समयसम्म ती जस्तापाता गोदाममा नै थन्किएर बसेको हो ।
पहिलेदेखि नै माग गरे पनि सरकारले जस्तापाता स्वतन्त्र रूपमा बजारमा विक्री गर्न साल्ट टे«डिङलाई अनुमति दिएको थिएन । केही दिनअघिमात्रै आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जस्तापाता विक्रीका लागि स्वीकृति गराएको हो । कर्पोरेशनका विभागीय प्रमुख पङ्कज जोशीले जस्तापाताको विक्रीका लागि चुनावलगत्तै टेण्डर आह्वान गर्ने तयारी गरिएको बताए । उनका अनुसार त्यसका लागि आवश्यक काम भइरहेको छ । मन्त्रिपरिषद्को स्वीकृतिपछि साल्ट टे«ड्रिले घाटा सहेरै भए पनि विक्री गर्न लागेको हो । जस्तापाताको अहिलेको बजार मूल्य बुझी सोहीअनुरूप जस्तापाता विक्री गर्ने कर्पोरेशनको तयारी छ ।
लामो समयसम्म पनि विक्री गर्न नपाएपछि जस्तापाता खरीद गरिएको रकमको ब्याज नै ७ करोड रुपैयाँ पुगेको कर्पोरेशनले बताएको छ ।
जोशीका अनुसार जस्तापाता विक्रीका लागि समयमै सरकारले अनुमति दिएको भए ब्याज खर्च यति धेरै हुने थिएन ।
आपूर्ति मन्त्रालयका अनुसार कर्पोरेशनले खरीद गरेको जस्तापाताको खरीद र विक्री मूल्यमा हुने फरकका कारण पर्ने नोक्सान रकम ब्यहोर्न अर्थ मन्त्रालय सहमत भएको छ । कर्पोरेशनलाई आपूmले जस्तापाता विक्री गर्न सहमति दिइसकेको र महँगोमा खरीद गरिएको जस्तापाता सस्तोमा विक्री गर्दा हुने घाटा रकम बेहोर्न अर्थमन्त्रालयलाई पत्राचारसमेत गरिसकेको आपूर्ति मन्त्रालय स्रोतले बताएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.