काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । साताको शुरूदेखि नै बढ्न थालेको सुनको मूल्य आज (बिहीवार) फेरि प्रतितोला १ हजार रुपैयाँले वृद्धि भइ प्रतितोला १ लाख ६४ हजार कायम भएको छ ।
अघिल्लो दिन सुन तोलाको एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतवार प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजारमा कारोवार भएको सुन सोमवार तोलामा १ हजार, मंगलवार १ हजार १०० र बुधबार ९०० रुपैयाँले बढेको थियो ।
गत कात्तिक १५ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ त्यसपछि भने घट्दो क्रममा देखिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १ हजार ९५५ रुपैयाँमा स्थिर छ ।
आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६५६ दशमदव १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो गत कारोबार दिनको अन्तिम कारोवार मूल्यको तुलनामा ८ दशमदव ६९ अमेरिकी डलरले बढी हो ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै डलरको मूल्य बढ्ने तथा सुनको मूल्य घट्ने अनुमान गरिएको थियो । ट्रम्प निर्वाचितपछिका केही दिन घट्दो ट्रेण्डमा देखिएको सुनको मूल्य फेरि बढ्दो क्रममा देखिएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बिहीवार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्ड लगायतका विदेशी मुद्राको मूल्यसमेत बढेको छ । सामान्यतया डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने प्रक्षेपण गरिन्छ । तर, नेपाली बजारमा त्यसको ठीक उल्टो सुन र डलर दुवैको मूल्य वृद्धि भइरहेको छ ।
हाल बिहेको सिजनसमेत चलिरहेका बेला नेपाली बजारमा सुनको कारोबारमा वृद्धि हुने गर्छ । सिजनमा दैनिक ४० किलोसम्म सुनको खपत नेपाली बजारमा हुने गरेको व्यवसायी बताउँछन् ।
बजारमा माग बढ्नु, सरकारले सुन कोटा निर्धारण गर्नु र त्यसको पुनरावलोकन नगर्नु तथा भन्सार महसुलदर बढी हुनुलगायत कारण नेपाली बजारमा सुनको मूल्य उच्च भएको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् । 'डलरमा उल्लेख्य वृद्धि भएको छैन त्यसको प्रभाव देखिँदैन । तर, भन्सार दरका कारण मूल्य उच्च छ, उच्च मूल्यका कारण सिजनमा पनि कारोबार छैन,' उनले भने, 'उपभोक्ताले अत्यावश्यक भएमात्रै सुन किनिरहेका छन् नत्र पुरानो सुन गालेर काम चलाइरहेका छन् ।'
यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधवारको तुलनामा बिहीवार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डल गायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीवार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ७७ पैसा र विक्रीदर १३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीवार युरो एकको खरीददर १४२ रुपैयाँ १५ पैसा र विक्रीदर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरीददर १७० रुपैयाँ ५४ पैसा तथा विक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्विस फ्र्याङ्क एकको खरीददर १५२ रुपैयाँ १८ पैसा तथा विक्रीदर १५२ रुपैयाँ ८६ पैसा तथा अस्ट्रेलियन डलर एकको खरीददर ८७ रुपैयाँ ६३ पैसा, विक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।
आजका लागि क्यानडियन डलर एकको खरीददर ९६ रुपैयाँ ३० पैसा तथा विक्रीदर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरीददर १ रुपैयाँ ३४ पैसा तथा विक्रीदर १ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
यस्तै जापानी येन १० को खरीददर आठ रुपैयाँ ६५ पैसा तथा विक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ६० पैसा तथा विक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरीददर ३५ रुपैयाँ ९० पैसा तथा विक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ९६ पैसा तथा विक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।