काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १९ दशमलव शून्य ४ अंक माथि उक्लिएर २ हजार ६८८ दशमलव ५५ विन्दुमा बन्द भएको छ ।
यो दिन २ हजार ७०५ दशमलव ५६ विन्दुसम्म पुगेको बजार २ हजार ६६९ दशमलव ५८ विन्दुसम्म झरेको थियो । अघिल्लो कारोबार दिन घटेको बजार बिहीवार भने बढेर बन्द भएको हो ।
यस दिन बैंकिङ समूहको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ समूहको परिसूचक यस दिन ३ दशमलव ८२ प्रतिशत बढेको हो । यो दिन बैंकिङ समूह अन्तर्गतका सबै कम्पनीका शेयर मूल्य बढेका छन् ।
१०४ कम्पनीको धितोपत्र मूल्य बढ्दा बैंकिङ समूहका सबै कम्पनी परेका हुन् । यस दिन १४२ कम्पनीको धितोपत्र मूल्य घटेको छ भने सयपत्री हाइड्रोपावरको शेयर मूल्य स्थिर रहेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता १ हजार २४ रुपैयाँ ३० पैसा कायम भएको छ । यो दिन बाराही हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र एमबिएल इक्वीटीको इकाई मूल्य ९ प्रतिशत घटेको छ ।
बजार बढे पनि अघिल्लो दिनभन्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको २ करोड ३० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको २ करोड २३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा ङादी ग्रुप पावरको सर्वाधिक हिस्सा रहेको छ । यो दिन ङादी ग्रुप पावरको ६९ करोड १ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४४ पैसाले बढेर अन्तिम मूल्य ३७९ रुपैयाँ कायम भएको छ ।
यस दिन कुल बजार पूँजीकरण ४४ खर्ब ७३ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब ४२ अर्ब ५ करोड १० लाख रुपैयाँ कायम रहेको थियो । बजार बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको हो ।