काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ४ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बिहीवार कायम अन्तिम शेयरमूल्य ९७५ रुपैयाँ ७१ पैसाको आधारमा बोनस पछिको मूल्य प्रतिकित्ता ९३३ रुपैयाँ ६९ पैसा तोकेको हो । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस कम्पनीको चुक्तापूँजी हाल १० अर्ब ४० करोड रुपैयाँ छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि जेठ ११ गते आइतवार एक दिन बुक क्लोज गर्न लागेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा जेठ ८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश पाउन योग्य भएका छन् ।