काठमाडौं । अघिल्लो तीन कारोबार दिन स्थिर रही २ हजार ६०० विन्दु तल झर्न नसकेको नेप्से बिहीवार भने ४ दशमलव ४५ अंकले घटेर २ हजार ५९५ दशमलव ७४ विन्दुमा झरेको छ ।
बिहीवार २ हजार ६१७ दशमलव ६५ विन्दुसम्म पुगेको नेप्से २ हजार ५९४ दशमलव ७१ विन्दुसम्म झरेको थियो । ९३ कम्पनीको धितोपत्र मूल्य बढेको यो दिन १५५ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ ।
यो दिन इन्भेर्टेड ह्यामर आकृतिको मैनबत्ती चित्र बनेको छ । यस चित्रले बजार बुलिसमा रिभर्स हुने संकेत गर्दछ । यसले अहिले देखिएको विक्री चाप खरीद चापमा परिणत भई बजार बढ्ने सम्भावनालाई औंल्याउँछ ।
बिहीवार ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलमपेन्ट बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव १८ प्रतिशत अर्थात् प्रतिकित्ता १०९ रुपैयाँ ४९ पैसाले बढेर अन्तिम मूल्य १ हजार ३०१ रुपैयाँ ९७ पैसा कायम भएको हो ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता ८२ रुपैयाँ २५ पैसाले बढेर अन्तिम मूल्य ९९५ रुपैयाँ ८८ पैसा कायम भएको हो ।
यस दिन रिलायबल समृद्धि योजनाको इकाई मूल्य भने सर्वाधिक ९ दशमलव ३० प्रतिशत घटेको छ । प्रतिइकाई ९३ पैसाले घटेर यस योजनाको इकाई मूल्य ९ रुपैयाँ ७ पैसा कायम भएको हो ।
यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बुधवार ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँभन्दा बढीको १ करोड ३७ लाख ५९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ७ अर्ब ७८ करोड २ लाख रुपैयाँभन्दा बढीको १ करोड ९६ लाख ५० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा यस दिन पनि बुटवल पावर कम्पनीको सर्वाधिक हिस्सा रहेको छ । पछिल्ला कारोबार दिन यस कम्पनीको कुल कारोबार रकममा सर्वाधिक हिस्सा रहँदै आएको छ ।
बिहीवार बुटवल पावर कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको देखिन्छ । शेयर मूल्य भने प्रतिकित्ता ३ रुपैयाँ ८२ पैसाले घटेर अन्तिम मूल्य ८४० रुपैयाँ ३२ पैसा कायम भएको छ ।
बिहीवार विकास बैंक समूहको परिसूचक सर्वाधिक १ प्रतिशत बढेको छ । यस दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८७ प्रतिशत घटेको छ ।
कुल बजार पूँजीकरण यस दिन ४३ खर्ब २४ अर्ब ८८ करोड ८१ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । बुधवार कुल बजार पूँजीकरण ४३ खर्ब ३२ अर्ब ३० करोड ३८ लाख रुपैयाँ थियो । यस दिन कुल बजार पूँजीकरण ७ अर्ब ४१ करोड ५६ लाख रुपैयाँभन्दा बढीले घटेको हो ।