काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । यस अघि असार १२ गतेसम्म निष्कासन अवधि तोकिएकोमा असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २७ गतेसम्म अवधि थप गर्ने निर्णय गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते बुकक्लोज गरेको छ । बुक क्लोजको आधारमा जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार –६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद शेयरबापत् संकलित रकममध्ये ४ करोड रुपैयाँ ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको बखत भुक्तानी गर्न बाँकी बक्यौता तिर्न, सो आयोजनाको दीर्घकालीन ऋण रकम बैंकको आग्रहअनुसार सावा रकम घटाउन तथा अन्य अल्पकालिन ऋणको साँवा र ब्याज भुक्तानी गर्नका लागि १९ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ खर्चिने बताएको छ । यो वाहेक बाँकी रहेको १५ करोड रुपैयाँ भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा प्रबद्र्धित ५७ दशमलव ५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनामा लगानी गर्न लिइएको रकम भुक्तानी गर्न प्रयोग गर्ने जानकारी कम्पनीले दिएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ कायम हुनेछ ।