काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म ११ रुपैयाँ ३० पैसा कायम भएको छ । वैशाख मसान्तसम्म ११ रुपैयाँ २१ पैसा रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य पछिल्लो महिना बढेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७६ साल कात्तिक १९ गतेदेखि सञ्चालनमा रहेको छ ।
योजना सञ्चालनका लागि ८ करोड ६० लाख इकाई जारी गरिएको थियो । जेठ मसान्तसम्म योजनाको खुद सम्पत्ति भने ९७ करोड १९ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस अवधिसम्म योजना १० करोड ४३ लाख रुपैयाँभन्दा बढी नाफामा छ । वैशाख मसान्तसम्म यो नाफा ९ करोड ६५ लाख रुपैयाँभन्दा बढी थियो । पछिल्लो महिना योजनाको नाफामा सामान्य बृद्धि देखिएको छ ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ८९ करोड ३३ लाख रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने ९१ करोड १५ लाख रुपैयाँभन्दा बढी छ । योजनाको धितोपत्रमा भएको लगानीको मूल्य लागत मूल्यभन्दा बढी कायम देखिएको हो ।