चैत ३०, काठमाडौं । पछिल्लो समय बीमाको पहुँच गाउँगाउँसम्म पुगेसँगै बीमा गराउने पनि बढ्दै गएका छन् ।
बीमा कम्पनीहरूले आफ्ना सेवा अभिकर्तामार्फत गाउँगाउँमा पुर्याउँदा अर्कोतर्फ बीचमै बीमा पोलीसी छोड्नेको संख्या पनि बढिरहेको छ ।
आयआर्जन बढी हुँदा बीमा गराएकाले आयआर्जन घट्दै गएपछि वा रकम अभावका कारण बीमा समर्पण (सरेण्डर) गर्ने गरेका छन् ।
बीमा समितिको माघको तथ्यांकअनुसार यो महीना प्रथम बीमा शुल्क आर्जनको २५ प्रतिशत रकम सरेण्डर गरेका बीमितलाई भुक्तानी भएको छ ।
बीमा कम्पनीहरूले २५ प्रतिशत रकम अभिकर्तालाई कमिशन दिने हुँदा सरेण्डर सहित ५० प्रतिशत रकम कम्पनीको हातमा छैन ।
कुनै जीवन बीमा कम्पनीले एक महिनामा २ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा २५ प्रतिशत कमिशन र २५ प्रतिशत सरेण्डरको तिर्दा कम्पनीसँग १ अर्ब रुपैयाँ मात्रै बाँकी रहन्छ ।
जम्मा व्यवसायको ५ प्रतिशतसम्म सरेण्डर हुनुलाई बीमाविज्ञहरू स्वभाविक मान्छन् । तर, त्यो भन्दा बढी बीमा सरेण्डर बढ्यो भने बीमा कम्पनीहरूले सोच्नु पर्ने बीमाविज्ञ भोजराज शर्मा बताउछन् ।
‘आर्थिक मन्दी र महंगीका कारण अलि–अलि बीमा सरेण्डर हुनु स्वभाविक हो । तर, सरेडर गर्नेको संख्या बढ्दै गयो भने बीमा कम्पनीहरूले सोच्नु पर्ने हुन्छ,’ उनले भने, ‘भइरहेका बीमित घट्दा कम्पनीको आम्दानीमा प्रत्येक्ष प्रभाव पर्छ । नयाँ बीमित खोज्दा पनि कम्पनीको खर्च बढ्छ ।’
समितिका अनुसार माघमा जीवन बीमा कम्पनीहरूबाट प्रथम बीमा शुल्कमार्फत २ अर्ब ४२ करोड २९ लाख रूपैयाँ आर्जन भएको थियो । तर, उक्त महीना ६१ करोड १७ लाख रुपैयाँ बीमा सरेण्डर गरेका बीमितलाई कम्पनीहरूले रकम भुक्तानी गरेका छन् ।
बीमा गर्न नसकेर पछि सरेण्डर गर्ने प्रचलन नेपालमा मात्र नभएर अन्तरराष्ट्रिय बीमा क्षेत्रमा पनि हुने गरेको बीमाविज्ञ शर्मा बताउछन् ।
घरायसी समस्या समाधान गर्न पनि अधिकांशले बीमा सरेण्डर गरेका हुन सक्ने उनको बुझइ छ । कतिले त बुझ्दै नबुझी बीमा गराउँने र पछि पैसा तिर्न नसकेर सरेण्डर गर्न पुग्ने उनी बताउँछन् ।
तर, बीमितले बीमा सरेण्डर गर्नुभन्दा ऋण लिनु उचित हुने शर्मा बताउँछन् । यस्तो ऋण बीमितले पटक–पटक लिन सक्ने व्यवस्था रहेको उनको भनाइ छ । सरेण्डर गर्ने बढे भने ग्राहक कम भएर बीमा कम्पनीको व्यवसायमा कमी आउँछ ।
जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा बीमा समर्पण गर्न तथा ऋण लिन पाउने व्यवस्था गरिएको छ । उक्त निर्देशिकाको दफा १० मा बीमा गरेको तीन वर्षपछि सरेण्डर गर्न पाइने व्यवस्था छ । सोही व्यवस्था अनुसार धेरैले बीचमा नै बीमा सरेण्डर गर्ने गरेका छन् । कतिपयले यो व्यवस्थाको फाइदा नलिइ रकम पनि नतिर्ने र प्राप्त हुने लाभ पनि नलिने गरेका छन् ।
उक्त निर्देशिकामा बीमालेख जारी भएको तीन वर्ष पूरा भएपश्चात् बीमालेखको समर्पण मूल्य बीमाशुल्कको ८० प्रतिशत र आर्जित बोनस प्राप्त गर्न सक्ने व्यवस्था छ ।
त्यसैगरी समयअवधि बढ्दै गए प्राप्त हुने रकमको प्रतिशत पनि बढ्दै जान्छ । समितिका अनुसार बीमालेख जारी भएको चार वर्ष पूरा भएपश्चात् बीमा शुल्कको ८५ प्रतिशत र आर्जित बोनस प्राप्त हुनेछ भने बीमालेख जारी भएको पाँच वर्ष पूरा भएपश्चात् बीमा शुल्कको ९० प्रतिशत र आर्जित बोनस पाउने व्यवस्था छ ।
तर, बीमितले बीमालेख धितो राखी कर्जा लिन चाहेमा बीमा कम्पनीले वाणिज्य बैंकहरूले प्रदान गर्दै आएको व्याजदरभन्दा बढी नहुने गरी सञ्चालक समितिको स्वीकृति लिई ब्याज निर्धारण गरी तोकिए बमोजिम ऋण उपलब्ध गराउनु पर्ने हुन्छ । बीमालेख धितो राखेर ९० प्रतिशतसम्म ऋण पाइने व्यवस्था छ ।