विराटनगर । मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग, व्यवसायको बीमामा कायम न्यूनतम बीमाशुल्क अत्यधिक रहेको र केही नीतिहरूको सुधार गर्नुपर्ने उल्लेख गर्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष राठीले भारतसहित मुलुकको तुलनामा नेपालको निर्जीवन बीमाको न्यूनतम बीमाशुल्क ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म बढी रहेको र आवश्यक÷अनावश्यक सबै जोखिम अनिवार्य समावेश गर्नुपर्ने जस्ता नीतिले समस्या परेको उल्लेख गरे ।
बीमाका केही नीति न्यायोचित नरहेको पनि उनले बताए । जोखिमको वर्गीकरण वैज्ञानिक तवरले नगरिएको, बीमाशुल्क गणना गर्ने कार्यविधि प्रष्ट नरहेको, बीमाकर्ता स्वयंले बीमा शुल्क गणना गर्न सक्ने व्यवस्था नरहेको, बीमा गराउँदाको कमिशन दर न्यून गरिएको लगायत अवस्थाले नेपाली उत्पादन र उपभोग्य वस्तुको मूल्य उच्च भई उपभोक्तादेखि अर्थतन्त्रसम्म प्रभावित भइरहेको बताए ।
अध्यक्ष राठीले कच्चापदार्थमा परनिर्भर नेपालको विद्यमान ह्रासोन्मूख आर्थिक गतिविधिलाई दृष्टिगत गरी न्यूनतम बीमाशुल्क भारत तथा अन्य मुलुकको भन्दा न्यून वा समान गरिनुपर्ने माग राखे । नेपालको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक लगायत परिवेशलाई ध्यानमा राखेर अपेक्षित जोखिमपूर्ण अवस्थाको मात्र ऐच्छिक बीमा गर्न मिल्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।
औद्योगिक, व्यावसायिक वस्तुको जोखिमको वर्गीकरण अन्य देशको सरह वैज्ञानिक तवरले गरिनुपर्ने, बीमाशुल्कको गणना प्रष्ट, पारदर्शी हुनुपर्ने र नियामक निकायले तोके बमोजिम भए/नभएको डिजिटल माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिनुपर्ने माग उनले गरे ।