आगामी आवको बजेटमा पाँच क्षेत्रलाई रूपान्तरणकारी भनी उल्लेख गरिएको छ । यसमा कृषिक्षेत्रको रूपान्तरण, ऊर्जाक्षेत्रको विकास, सूचनाप्रविधि विकास, पर्यटन प्रवर्द्धन, उद्यमशीलता र औद्योगिक विकास, समावेश गरिएका छन् । पछिल्लो समयमा सबै देशले विकास गर्न बजेटमा उल्लेख गरिएका यिनै पाँच क्षेत्रको सन्तुलित उत्थानमा ध्यान केन्द्रित गरेको पाइन्छ । यसमा सर्वप्राचीन पेशा कृषिदेखि लिएर आधुनिक पेशा सूचनाप्रविधिमा उद्यमशीलताको प्रयोगलाई समेटिएको छ । यी पाँच क्षेत्रलाई रूपान्तरणकारी भनी उल्लेख गरिएको छ ।
पहिलोमा देशका ६१ प्रतिशत जनता निर्भर रहेको कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादनमा समेत महत्त्वपूर्ण योगदान छ । र, पनि अर्बाौंको खाद्यान्न, तरकारी आदि आयात गर्न बाध्य छौं । सर्वप्रथम कृषिमा आधुनिकीकरणले देशको ठूलो धनराशि नेपालमा रहने र प्रयास गर्दै जाने हो भने निर्यात पनि गर्न सकिने भएकाले कृषि सुधारमा अब ढिलाइ गर्नु हुँदैन । त्यही भएर सरकारले २०८१/९१ लाई कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको छ । यसमा देशको भूगोल, बजार सम्भावना र पारिस्थितिक सम्भावनाको आधारमा विशेष कृषि उपज क्षेत्र बनाउने भनिएको छ ।
उद्यमशीलता विनाको कृषि, पर्यटन, सूचनाप्रविधि तथा ऊर्जा विकास केही पनि सफल हुँदैन । तसर्थ कुनै देशलाई अग्रगतिमा लैजानु छ भने त्यहाँका जनतालाई उद्यमी बन्ने हुटहुटी र सोहीअनुरूपको वातावरण दिनुपर्छ ।
यो हरेक क्षेत्रमा सार्थक उत्थानका लागि निजीक्षेत्रसँग नै सरकारले हातेमालो गर्नुपर्ने देखिन्छ । कृषिको आधुनिकीकरण भित्रबाट नै उद्यमशीलता खोज्नुपर्ने अवस्था छ । जर्मनी, नर्वे, इजरायलजस्ता देशमा कृषिको आधुनिकीकरणले उद्यमशीलताका रूप लिएको छ र त्यँहाका जनताको आम्दानीमा व्यापक सुधार भएको छ । त्यस्तै तरीकाले हाम्रो बाँझो जमीनमा उत्पादन गर्न र त्यसबाट लगानीकर्ताले लाभ लिने अवस्था सृजना गर्न धेरै नै मेहनत गर्नुपर्ने आवश्यकता छ । बजेटले पहाडको ५० रोपनी र तराईको १० बिगाहा भन्दा बढी जमीनलाई चक्लाबन्दी गरी व्यावसायिक रूपमा सामूहिक खेतीको स्वरूपमा लैजाने भनिएको छ ।
यसरी कृषिक्षेत्रको विकासमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २ अर्ब ९८ करोड बजेट छुट्ट्याइएको छ । यसैगरी फलफूल खेती, पशुपालनलगायत हरेक सम्भावित कृषिक्षेत्रका लागि बजेट विनियोजन गरिएको छ । पहिलोपटक गाँजालाई औषधिका रूपमा उत्पादन गर्न छूट दिइएको छ । अहिले पनि समस्या यही छ कि हरेक युवा विदेश जाने होडमा रहेको अवस्थामा कृषिलाई कसरी वास्तविक व्यावसायिक विन्दुमा लैजाने हो ।
कृषिपछि दोस्रो आशाको केन्द्र जलविद्युत् अर्थात् ऊर्जाक्षेत्र भएकाले बजेटले आगामी वर्ष ४५०० मेगावाट कुल विद्युत् उत्पादन गर्ने लक्ष्य राखिनुका साथै आगामी आवबाट नेपालको विद्युत् बंगलादेशमा बेच्ने व्यवस्था मिलाइएको छ ।
१२ सय मेगावाटको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी, ४१७ मेगावाटको नलसिंगाड जलाशययुक्त परियोजना अगाडि बढाइँदै छ । यदि यी परियोजना सफल भएमा नेपाल सुक्खा याममा पनि विद्युत्मा आत्मनिर्भर हुनेछ । पानी, जलविद्युत् र युवा नेपालका सबैभन्दा महत्त्वपूर्ण सम्भाव्य शक्ति हुन् जसले नेपालको आर्थिक भविष्यलाई उचाइमा लैजाने निश्चित छ । यसैगरी बजेटले सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गर्ने लक्ष्य लिइएको छ । यसरी ऊर्जाक्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ ।
तेस्रोमा बजेटले ज्यादै महत्त्वाकांक्षी लक्ष्य सूचना तथा प्रविधिको क्षेत्रमा लगाएको छ । आगामी १० वर्षमा ३० खर्बको सूचनाप्रविधि निर्यात गर्ने र ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । यो महत्त्वाकांक्षी सोचलाई वास्तविकताको उचाइमा पुर्याउन आगामी आवलाई सूचनाप्रविधि दशकको प्रस्थान वर्षको रूपमा तयारी गरिँदै छ । एआईलगायतको सूचनाप्रविधि विकासार्थ स्थिर र प्रगतिउन्मुख ऐन कानून बनाइनुका साथै नीतिगत स्थायित्वमार्फत उच्च गतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्य सरकारले लिएको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी त्यसको कार्यान्वयनका लागि बजेट छुट्ट्याइएको छ ।
पूर्णरूपमा मानव मस्तिष्कमा आधारित प्रदूषणरहित सूचना प्रविधिको क्षेत्रले व्यापक भविष्य बोकेको कुरामा आम नेपाली विश्वस्त छन् । सूचनाप्रविधि विश्वभरि फैलिन सक्छ, आर्थिक साम्राज्य कायम गर्न सक्छ ।
यसरी पूर्ण रूपमा मानव मस्तिष्कमा आधारित प्रदूषणरहित सूचनाप्रविधिको क्षेत्रले व्यापक भविष्य बोकेको कुरामा आम नेपाली विश्वस्त छन् । सूचनाप्रविधि विश्वभरि फैलिन सक्छ । आर्थिक साम्राज्य कायम गर्न सक्छ । यो असीमित विकासको क्षेत्र हो । यसमा हाम्रा युवालाई दीक्षित गर्ने काममा सरकार पछि हट्नु हुँदैन ।
सूचनाप्रविधिमा एउटै कुरा हामीले अरूले भन्दा फरक र राम्रो तरीकाले गर्न सक्यौं भने त्यसले लाखांैको जीवनस्तर सुधारिन सक्छ । आज विश्वमा अधिकांश सूचनाप्रविधिको काम चिप्सको माध्यमबाट हुने गर्छ । विश्वमा अधिकांश चिप्सको उत्पादन ताइवान जस्तो सानो देशमा हुने गर्छ । त्यस्तै नेपालीहरूले एउटा चीज बनाउन सके हाम्रो आर्थिक हैसियत दुनियाँका अगाडि शिर उठाएर उभिन सक्नेछ ।
सरकार यो बजेटमार्फत शिक्षा, सूचनाप्रविधिमा युवालाई जोड्ने, देशका बैँक वित्तीय संस्था, ठूला व्यावसायिक घरानामा नेपालमा नै बनेको सफ्टवेयर लागू गराउने विषयमा लागेको छ । यो खुशीको विषय हो । यसैगरी सूचनाप्रविधिमा स्नातक स्नातकोत्तर गरी रहेका विद्यार्थीलाई सूचनाप्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाउने बारेमा पनि सोचेको अवस्था छ ।
प्रजातन्त्रमा सरकार युवाको जोशसँग सहमत भएर हिँड्नुपर्छ । हरेक मतदाताको सम्मान गर्नुपर्छ । उद्यमशीलतालाई सदैव उचाइमा राखेर व्यवहार गर्न सक्नुपर्छ । सम्भवत: यिनै कुरालाई आत्मसात् गरेर बजेटले उदीयमान उद्यमशीलता र सूचनाप्रविधिको विकासलाई बेरोजगारी र गरीबी हटाउने मियोका रूपमा हेरेको छ । यो विश्वासलाई हाम्रा सफ्टवेयर इन्जिनीयरहरूले पूरा गर्नेछन् ।
बजेटले चौथो रूपान्तरणकारी क्षेत्रको सूचीमा पर्यटन प्रवर्द्धनलाई राख्दै आगामी आवमा १६ लाख पर्यटक नेपाल भित्त्याउने लक्ष्य राखेको छ । यसले कति होटेल चल्छन्, ट्रेकिङ कम्पनीले कमाउँछन्, टुरिस्ट गाइडले काम पाउँछन्, यातायातका जहाज गाडीले पर्यटक पाउँछन्, यी सबै कुराहरू हाम्रो समृद्धिका आधार हुन् । यस कुरालाई ध्यानमा राखेर पर्यटक बढाउने काममा सम्पूर्ण सरोकारवाला सहभागी हुनुपर्छ ।
पर्वतारोहणमा मात्र होइन, पैदलमार्गमा पनि हामी विश्व प्रसिद्ध हुनुपर्छ । यसका लागि बजेटले ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेललगायत पर्यटकीय पूर्वाधारको विकास गर्ने लक्ष्य राखिएको छ । पर्यटन भनेको भू–सहभागिता, संस्कृति सहभागिता, विशिष्टता सहभागिता, मनोरञ्जन सघनताका साथै मुख्य गरी सुरक्षा प्रत्याभूतिबाट सञ्चालन हुने व्यवसाय हो । यसमा हामी सम्पूर्ण नेपालीको पर्यटकप्रति सद्भावको आवश्यकता पर्छ । यसमा हामी सबै उत्तरदायी छौं र सरकारले पनि यस वर्ष बजेटमा लगभग १२ अर्ब लगानी छुट्ट्याएको छ ।
पाँचौं रूपान्तरणकारी क्षेत्रका रूपमा उद्यमशीलता औद्योगिक विकासलाई लिइएको छ । यो नै माथि उल्लिखित चार रूपान्तरणकारी क्षेत्रलाई पछाडि बसालेर कठिनभन्दा कठिन सडकमा चालक बनेर सवारी चलाउन सक्छ । उद्यमशीलता विनाको कृषि, पर्यटन, सूचनाप्रविधि तथा ऊर्जा विकास केही पनि सफल हुँदैन । तसर्थ कुनै देशलाई अग्रगतिमा लैजानु छ भने त्यहाँका जनतालाई उद्यमी बन्ने हुटहुटी र सोहीअनुरूपको वातावरण दिनुपर्छ ।
बजार सीमितता हाम्रो समस्या हो । परन्तु विश्वव्यापीकरणले गर्दा विश्व बजार नेपालका लागि पनि खुलेको अवस्था छ । तसर्थ सम्पूर्ण युवाले उद्यमी क्षमताको विकास गरी कुनै एक क्षेत्रमा आफ्नो वस्तु तथा सेवाको ब्रान्डसहितको वर्चस्व कायम राख्न सक्ने अवस्था राज्यले सृजना गर्नुपर्छ । बजेटले रिटर्नी उद्यमशीलताको परिकल्पना गरेर वैदेशिक रोजगारबाट फर्किएकालाई औद्योगिक विकासमा संलग्न गराउन चाहेको अवस्था छ ।
यसरी बजेटले यी पाँच क्षेत्रलाई देशको मुहार बदल्ने क्षेत्रका रूपमा देखाएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यी सबै क्षेत्र एकआपसमा अन्तरनिर्भर छन् र सबैको प्रस्थान विन्दु उद्यमशीलता र औद्योगिक विकासबाट प्रारम्भ हुन्छन् । अनाज, फलफूल उत्पादनदेखि लिएर जलविद्युत् र सफ्टवेयर निर्माणमा उद्यम सुझबुझ आवश्यक हुन्छ । यो सबै ती युवामा अभिगुञ्जित हुन्छ जसमा केही गर्ने जोश, जाँगर र जोखिम लिने क्षमता विद्यमान रहन्छ । कमाइ बाँच्न र केही भोलिका लागि साँच्न पुगेन भने सबै विदेश जाने भएकाले यी क्षेत्रमा राज्य गहनता साथ लाग्न जरुरी छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।