काठमाडौं । बज्र मादी जलविद्युत् आयोजना निर्माणका लागि स्रोतको व्यवस्थापन भएको छ । २४ दशमलव ८ मेगावाट क्षमताको यो परियोजना कास्कीको मादी गाउँपालिकामा बन्नेछ । बज्र इनर्जी भेन्चर्स प्रवर्द्धक रहेको आयोजनामा एनएमबि बैंक र कृषि विकास बैंकले ३ अर्ब ७४ करोड रूपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनामा वित्तीय व्यवस्थापनका लागि शुक्रवार प्रवर्द्धक कम्पनी र बैंकहरूबीच सम्झौता भएको छ । एनएमबि बैंकले २ अर्ब ५० करोड र कृषि विकास बैंकले १ अर्ब २४ करोड करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजना निर्माणका लागि कुल ५ अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
बाँकी १ अर्ब ६० करोडमध्ये संस्थापक लगानीकर्ताले ७० प्रतिशत स्वपूँजी लगानी गर्ने र ३० प्रतिशत सर्वसाधारणमा शेयर बेचेर जुटाउने योजना रहेको कम्पनी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार परियोजनाको क्षमता ३१ मेगावाटसम्म विस्तार गर्ने तयारी छ । क्षमता विस्तारको लाइसेन्स अपग्रेडका लागि आयोजनाले विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ । वित्तीय व्यवस्थापन भएसँगै आयोजनाको कामले गति लिने र २०८५ सालसम्म व्यावसायिक उत्पादन शुरू गरिसक्ने पोखरेलले विश्वास दिलाए । क्षमता विस्तारपश्चात आयोजनाको लागत ६ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको उनको भनाइ छ ।
उनका अनुसार आयोजनाबाट वार्षिक १४७ दशमलव १२३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । क्षमता विस्तारपछि भने वार्षिक विद्युत् उत्पादन १८३ दशमलव ११ गिगावाट घण्टासम्म पुग्नेछ । रन अफ द रिभर प्रकृतिको यो आयोजना कास्की जिल्लाको मादी गाउँपालिकामा बन्नेछ । कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भिजन लुम्बिनीको टिमको कामप्रति पूर्ण विश्वास भएकै कारण आयोजनामा ऋण लगानीको नेतृत्व गरिएको बताए ।
यो आयोजनाबाट उत्पादन हुने विद्युत् लेखनाथ सबस्टेशनसम्म करीब ७ दशमलव २ किलोमीटर लामो १३२ केभी सिंगल सर्किट ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले दुवै आयोजनामार्फत ऊर्जा क्षेत्रमा निजीक्षेत्रको सक्रियता बढेको उल्लेख गर्दै नेपाल सरकारको ऊर्जा विकास मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सेतीनदी जलविद्युत्को उद्घाटन
बज्र इनर्जी भेन्चर्स प्रालिको लगानी रहेको भिजन लुम्बिनी ऊर्जा विकास कम्पनीले निर्माण गरेको २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत् आयोजनाको पनि उद्घाटन गरिएको छ ।
आयोजनाबाट उत्पादित बिजुली २०८१ साल कात्तिक २७ गतेदेखि नै नेपाल विद्युत् प्राधिकरणले खरीद गर्न थाले पनि औपचारिक उद्घाटन भने शुक्रवार गरिएको हो । डा. खतिवडाले आयोजनाको उद्घाटन गरेका हुन् । सेतीनदी जलविद्युत् आयोजनामा १५ सयभन्दा बढी संस्थापक लगानीकर्ताको सहभागिता रहेकाले यो आयोजना अरूभन्दा फरक र नमूना रहेको आयोजनाका प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलको भनाइ छ ।