अमेरिका । अर्बपति जेफ बेजोसले स्थापना गरेको ब्लू ओरिजिनले पहिलो पटक आफ्नो न्यु ग्लेन रकेट बिहीबार बिहान प्रक्षेपण गरेको छ। लामो समयदेखि स्थगित हुँदै आएको यो मिशनको पहिलो रकेट प्रक्षेपणको प्रत्यक्ष प्रसारणमा समेत देखाइएको थियो ।
यो मिशनलाई एलन मस्कको स्पेसएक्ससँग प्रतिस्पर्धी पनि मानिएको छ । “प्रक्षेपण शुरू भयो ! न्यु ग्लेनले तारातर्फको आफ्नो पहिलो यात्रा शुरू गर्यो,” ब्लू ओरिजिनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेको छ।
३२० फिट अग्लो (९८ मिटर) यो रकेटलाई प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको सम्मानमा न्यु ग्लेन नाम दिइएको हो । यसको प्रारम्भिक परीक्षण प्रक्षेपण सोमबार बिहान गर्ने तय भएको थियो तर कम्पनीले एउटा "आइसिङ समस्या" फेला पार्यो र फेरी मंगलबार बिहान प्रक्षेपणको प्रयास गरेको थियो तर मौसम प्रतिकूल भएकाले प्रक्षेपण स्थगित गरियो।
यी मिशनलाई आफूभन्दा धनी व्यक्ति एलन मस्कसंग प्रतिस्पर्धा गर्ने अमेजनका संस्थापक बेजोसको प्रयासको रूपमा हेरिएको छ । जसलाई एनजी-१ नाम दिइएको छ । मस्कले मंगल ग्रहलाई बसोबासयोग्य बनाउने सपना देखेका छन् भने बेजोसले पृथ्वीलाई जोगाउनका लागि ठूला उद्योगलाई अन्तरिक्षमा स्थानान्तरण गर्ने लक्ष्य राखेका छन्। तर हालका लागि स्पेसएक्स अग्रपंक्तिमा रहँदा ब्लू ओरिजिन अन्य प्रतिस्पर्धीहरूभन्दा पछाडि छ ।
स्पेसएक्सको फाल्कन ९ रकेटहरू कमर्सियल क्षेत्र, पेन्टागन र नासाका लागि अत्यावश्यक बन्दै आएका छन्। "स्पेसएक्सले धेरै वर्षदेखि बजारमा प्रभुत्व जमाएको छ र नयाँ प्रतिस्पर्धा हुनु राम्रो कुरा हो," नासाका एक सेवानिवृत्त वरिष्ठ अधिकारी जी. स्कट हबर्डले भनेका छन् ।
न्यु ग्लेनले नासाका दुई मंगल ग्रह मिशनहरू र अमेजनको प्रोजेक्ट क्यूपरका लागि समेत सहयोग गर्नेछ । यदि न्यु ग्लेन सफल भयो भने अमेरिकी सरकारले वैकल्पिक प्रणालीको रूपमा यसलाई प्रयोग गर्न सक्नेछ।
ब्लू ओरिजिनले अब न्यु ग्लेनको पहिलो चरणको बुस्टरलाई एटलान्टिक महासागरमा ६२० माइल तल रहेको ड्रोन शिपमा ल्याउने प्रयास गरिने बताइएको छ । स्पेसएक्सले यस्ता ल्यान्डिङहरू नियमित जस्तै गरिरहेको छ, तर ब्लू ओरिजिनका लागि यो पहिलो प्रयास हो।
रकेटको माथिल्लो भागले पृथ्वीको कक्षतर्फ इन्जिन प्रज्वलन गर्नेछ र लगभग १२ हजार माइल उचाइमा पुग्नेछ । यो परीक्षण उडानका लागि रक्षा विभागद्वारा वित्त पोषित एक प्रोटोटाइप यान पनि समावेश छ।
ब्लू ओरिजिनले अन्तरिक्ष पर्यटकका लागि प्रयोग गरिने न्यु शेपर्ड रकेटहरू जुन सफलतापूर्वक ल्याण्ड गरिसकेका छ । न्यु ग्लेन भने स्पेसएक्सको फाल्कन ९ र फाल्कन हेवीभन्दा ठूलो रहेको छ । एएफपी