काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू गरेको छ । सरकारले स्वीकृत गरेसँगै बोर्डले आजबाट यो नियमावली लागू गरेको हो।
अधिकतम २५ करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले यो नियमावलीअनुसार आफ्नो चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयर सार्वजनिक निष्कासन गर्न सक्नेछन् ।
कुल निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर विक्री प्रबन्धकले र १५ प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताले खरीद गर्नुपर्ने प्रावधान छ । उनीहरूले सो शेयर ३ वर्षसम्म विक्री गर्न पाउने छैनन् । पब्लिक कम्पनी बनेको १ वर्षमै शेयर निष्कासन गर्न सकिने छ । ती कम्पनीलाई रेटिङ पनि अनिवार्य गरिएको छैन । यद्यपि बोर्डले चाहेमा रेटिङको लागि निर्देशन दिन सक्नेछ ।
बोर्डले नियमावली लागू गर्दै आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई समेत पत्राचार गरिसकेको जानकारी दिएको छ । नियमावलीअनुसार थोरै चुक्तापूँजी भएका कम्पनीको आईपीओ निष्कासनको लागि छुट्टै प्रक्रिया अपनाइनेछ ।
नियमावली अनुसार कम्पनीको आईपीओ खरीद गर्नको लागि न्यूनतम ५०० कित्ताको लागि आवेदन दिनुपर्नेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँमा शेयर निष्कासन गरेमा आईपीओ भर्न कम्तिमा ५० हजार रुपैयाँ लाग्नेछ । शेयर बाँडफाँड गर्दा पनि न्यूनतम ५०० कित्ता नै बाँडफाँड गरिने छ।
आईपीओ विक्री बन्द भएको १५ दिनमा बाँडफाँट गरिसक्नु पर्नेछ । यो नियमावलीबमोजिम ३ वर्षसम्म नाफामा रहेका कम्पनीहरूले प्रिमियम मूल्यमा पनि शेयर निष्कासन गर्न सक्ने छन् ।