वीरगञ्ज। ड्राइपोर्टबाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याएको खुलासा भएपछि त्यस्ता व्यवसायीलाई बयानका लागि उपस्थित गराउने भन्सारको प्रयास असफल भएको छ ।
फरक वस्तु घोषणा गरेर प्र्रतिबन्धित मालसामान भित्त्याउने आयातकर्तालाई उपस्थित हुन पत्र काटेको १ महीनाभन्दा बढी भइसकेको छ । त्यस्ता कारोबारीले अटेर गरेपछि नेपाल राष्ट्र बैंकमार्फत विवरण खोज्ने काममा भन्सार प्रशासन लागेको छ ।
चार वर्षभन्दा लामो समयदेखि भन्सारमा थन्किएका कन्टेनर लिलामको प्रक्रिया अघि बढाएपछि यस्तो रहस्य खुलेको थियो । ४०० कन्टेनरमध्ये करीब सयओटा कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएको थियो ।
भन्सारले पत्र काटेकामध्ये कोही पनि उपस्थित नभएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख रामप्रसाद मैनालीले बताए । अनुसन्धानमा तान्नुपर्ने आयातकर्ता उपस्थित नभएपछि नेपाल राष्ट्र बैंकमार्फत थप विवरण मागिएको उनले बताए । ‘व्यापारीले आयातका लागि कागजात बनाएका बैंकहरूसँग थप जानकारी लिने काम भइरहको छ । अन्य वस्तु लिलामीको प्रक्रिया अघि बढाएका छौं,’ मैनालीले भने ।
केही ठूला व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको पोल खुलेको हो । कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, मदिरा, हार्डवेयरका सामानमा स्कूटरलगायत फेला परेको थियो । गिरोहले भन्सारको हरियो लेनमा जाँचपास हुने वस्तु घोषणा गरेर प्रतिबन्धित वस्तु भित्त्याउने गरेको खुलासा भएको थियो । यो तथ्य खुलेपछि भन्सार विभागले जाँचपासमा हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका मालसामान भित्रिने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएपछि जोखिम मूल्यांकन समितिले लेन नै हटाइदिएको हो ।
भन्सारमा हरियो, पहेँलो र रातो लेनमा जाँचपास हुन्छ । हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । यो लेनमा आउने वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेँलोमा कागजातको जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेरमात्रै छोडिने भन्सार अधिकारी बताउँछन् ।
सरकारले २०७६ चैतमा केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका बेला तत्कालीन सत्ताधारी, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा यो काम भएको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए ।