काठमाडौं। बंगलादेशमा भएको आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलबीच केही महीनादेखि पटकपटक अवरुद्ध हुँदै आएको नेपाल–बंगलादेश व्यापार पुन: सुचारु भएको छ ।
आन्दोलनले उग्र रूप लिएसँगै साउन २० र २१ गते बन्द भएको बंगलादेशसँगको व्यापार (आयात निर्यात दुवै) साउन २२ देखि पुन: पूर्ण रूपमा सुचारु भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका वरिष्ठ सहायक जीवन भट्टराईले आर्थिक अभियानलाई बताए ।
आन्दोलनका कारण त्यसबेला नाकामा रोकिएका सबै गाडी तथा कन्टेनर पास भइसकेका छन् । ‘बंगलादेशमा गठित अन्तरिम सरकारले आन्दोलनकारीको माग पूरा भए फेरि तत्काल कुनै अवरोध हुने देखिँदैन,’ उनले भने । आन्दोलनका कारण त्यसबेला नेपाल आउने ६ ओटा बंगलादेशी गाडी बंगलाबन्ध नाकामा रोकिएका थिए भने नेपालबाट उखुको खुदो लोड गरेर बंगलादेश हिँडेका ११ ओटा गाडी मेची भन्सार कार्यालय, काँकडभिट्टामा रोकिएका थिए ।
दुई देशबीचको व्यापार ठप्प हुँदा त्यसको मर्का आयात–निर्यातमा संलग्न व्यवसायीलाई परेको थियो । आन्दोलनको प्रभावले सामान बोकेका कन्टेनरहरू नाका र भन्सारमा रोकिँदा व्यवसायीले दैनिक रुपमा कन्टेनरको ‘डिटेन्सन चार्ज’ नै ४ हजार रुपैयाँसम्म बुझाउनुपरेको थियो । नेपालबाट बंगलादेशमा वार्षिक करीब ५० करोडको सामग्री जाने गरेको छ । उताबाट करीब ४ अर्ब रुपैयाँको सामग्री आउने गरेको तथ्यांक छ ।
आर्थिक वर्ष २०८०/८१ को तथ्यांक हेर्ने हो भने नेपालबाट ४६ करोड ३१ लाख रुपैयाँ निर्यात भएको र बंगलादेशबाट ३ अर्ब ८३ करोड ६८ लाख रुपैयाँको आयात भएको देखिन्छ छ । बंगलादेशबाट ब्याट्री, खाद्यान्न, औषधिलगायत २० प्रकारका सामग्री आयात हुन्छ ।
नेपालबाट जडीबुटी, च्यावनप्रास, मुसुरोको दाल, गेडागुडी, मोलासेस, पशुआहारको कच्चा पदार्थ, खयर कत्था, रंगरोगनका सामग्री निर्यात हुने गरेको व्यवसायी बताउँछन् । आन्दोलन शुरू भएदेखि नै नेपाल, भारत र भुटानसँग व्यापार गर्ने बंगलादेशको नाका बंगलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी थियो ।