काठमाडौं । बोटलर्स नेपाल (तराई)ले यस वर्षको ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २६ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
साधारण सभाले पारित गरेको उक्त नगद लाभांश माघ ६ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथाशीघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्नका लागि समेत कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूमा मात्र नगद लाभांश वितरण गरिएको हो ।
पुस १८ गतेसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित कम्पनीकै नाममा नगद लाभांश रोक्का रहेको र फुकुवा भइसकेको अवस्थामा कम्पनीमा फुकुवा पत्र पेश गरी आफ्नो नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले भनेको छ ।