काजान । ब्रिक्स समूहको शिखर सम्मेलनका लागि विश्वका दुई दर्जन नेता आज रुसमा भेला हुँदैछन् । जुन उदीयमान अर्थव्यवस्था भएका राष्ट्रहरूको गठबन्धन हो ।
रुस-युक्रेन द्वन्द्व शुरू भएयता रुसमा भएको यो सबैभन्दा ठूलो बैठक हो । राष्ट्रपति भ्लादिमिर पुटिनले साढे दुई वर्षको आक्रमणका बीच मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल भएको देखाउन खोजिरहेका बेला यो शिखर सम्मेलन हुन लागेको हो । जसलाई पश्चिमा प्रभुत्वमाथि मस्कोको चुनौतीको रूपमा हेरिएको छ ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सहभागी छन् । अक्टोबर २२ देखि २४ सम्म कजान शहरमा आयोजना हुने उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
मस्कोले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नाम 'ब्रिक्स' समूहको विस्तारलाई आफ्नो विदेश नीतिको प्रमुख तत्वको रूपमा प्राथमिकता दिएको छ । शिखर सम्मेलनको एजेन्डामा ब्रिक्सको नेतृत्वमा भुक्तानी प्रणालीको लागि पुटिनको प्रस्तावमा विशेष छलफल हुने जनाइएको छ । जुन स्विफ्टसँग प्रतिस्पर्धा गर्नको लागि तयार पारिएको एक अन्तरराष्ट्रिय वित्तीय नेटवर्क हो ।
क्रेमलिन (रूसको प्रशासनिक केन्द्र)ले पश्चिमी प्रभावलाई चुनौती दिन सक्ने गरि गठबन्धन निर्माण गर्ने लक्ष्यका साथ यस भेलालाई कूटनीतिक सफलताको रूपमा प्रचार गरिरहेको छ । संयुक्त राज्य अमेरिकाले ब्रिक्स 'भूराजनीतिक प्रतिद्वन्द्वी' बन्न सक्छ भन्ने धारणालाई अस्वीकार गरेको छ । तर, रुस-युक्रेन द्वन्द्व जारी रहँदा मस्कोले आफ्नो कूटनीतिक शक्तिलाई बढावा दिन जोड दिएकोमा भने चिन्ता व्यक्त गरेको छ ।
हालैका महीनाहरूमा रुसले पूर्वी युक्रेनको युद्धभूमिमा सहज पकड जमाएको छ भने चीन, इरान र उत्तर कोरियासँग सम्बन्ध पनि बलियो बनाएको छ ।
'ब्रिकका लागि ब्रिक'
मस्कोस्थित राजनीतिक विश्लेषक कोन्स्टान्टिन कालाचेभका अनुसार कजानमा ब्रिक्सको सम्मेलन गरेर क्रेमलिनले रुस एक्लो छैन, बरू उसका साझेदार र सहयोगीहरू पनि छन् भन्ने देखाउन खोजेको छ ।
सन् २०२३ मा पुटिनलाई अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनबाट अवैधरूपमा बालबालिकालाई देश निकाला गरेको आरोपमा 'वान्टेड' घोषित गरेको थियो । 'यस पटक क्रेमलिनले 'पश्चिमी दबाबको विकल्प' प्रस्तुत गर्ने र बहुध्रुवीय विश्व एक वास्तविकता हो भनेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ,' कालाचेभले भने।
मस्कोले युक्रेनका चारओटा क्षेत्र आफ्नो कब्जामा लिए पनि पुटिनले पश्चिमा मुलुकले रुसलाई युक्रेनमा सेना तैनाथ गर्न उक्साएको आरोप लगाउँदै आएका छन् । क्रेमलिनले विश्वव्यापी मामिलाहरू, राज्यहरू अमेरिकाद्वारा निर्धारित नियमहरूद्वारा नभई अन्तरराष्ट्रिय कानूनद्वारा निर्देशित हुनुपर्नेमा जोड दिएको छ । क्रेमलिनका सहयोगी युरी उशाकोभले भने, 'हामीलाई विश्वास छ, ब्रिक्स बहुध्रुवीयताको प्रोटोटाइप हो, जुन दक्षिणी र पूर्वी गोलार्द्धलाई सार्वभौमिकता र पारस्परिक सम्मानको सिद्धान्तमा एकताबद्ध गर्ने संरचना हो ।'
उषाकोभले थप भनेका छन्, 'ब्रिक्सले जे गरिरहेको छ, त्यो क्रमिकरूपमा एकपछि अर्को गर्दै लोकतान्त्रिक र न्यायपूर्ण विश्व व्यवस्थाका लागि पुल निर्माण गरिरहेको छ।'
पुटिनको लक्ष्य पागलपन मात्रै हो : जेलेन्स्की
पश्चिमाहरूले रुसले यस समूहलाई आफ्नो प्रभाव विस्तार गर्ने र युक्रेन द्वन्द्वसम्बन्धी आफ्नो दाबीहरूलाई बढावा दिने माध्यमका रूपमा हेरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साता सांसदहरूसमक्ष आफ्नो 'विजय योजना' प्रस्तुत गरेका थिए । यदि पुटिन युक्रेनको युद्धभूमिमा सफल भए यसले अन्य देशहरूलाई पनि युद्धमा प्रोत्साहन गर्न सक्ने चेतावनी दिएका थिए ।
'यदि पुटिनले भूराजनीतिक, सैन्य, वैचारिक र आर्थिक जस्ता आफ्ना लक्ष्यहरू हासिल गरे भने यसले अन्य सम्भावित आक्रमणकारीहरू, विशेष गरी पश्चिम, इन्डो-प्यासिफिक र अफ्रिकामा पनि युद्ध र आक्रमण जस्ता कार्य उनीहरूका लागि पनि फाइदाजनक हुन सक्छ भन्ने धारणा सिर्जना गर्नेछ,' उनले भनेका थिए ।
मूलतः सन् २००९ मा चार सदस्य राष्ट्रसहित स्थापना भएको ब्रिक्सले दक्षिण अफ्रिका, इजिप्ट र इरानजस्ता थुप्रै उदीयमान राष्ट्रहरूलाई समेटेको छ । मस्को र पश्चिमा मुलुकसँग जटिल सम्बन्ध भएको नेटोको सदस्य राष्ट्र टर्कीले सेप्टेम्बरको शुरूमा यो समूहमा सामेल हुने घोषणा गरेको थियो ।
उशाकोभका अनुसार साउदी अरेबियाबाहेक ब्रिक्सका सबै सदस्य राष्ट्रका नेताहरूले कजानको प्रतिनिधित्व गर्नेछन् । साउदी अरबका नेता क्राउन प्रिन्स मोहम्मद बिन सलमानको अनुपस्थितिले विश्वका दुई ठूला ऊर्जा शक्तिहरूबीच असहमतिको बारेमा अड्कलबाजीलाई बढावा दिएको छ । 'यो स्पष्ट छ कि क्रेमलिनले युवराजलाई हेर्न चाहेको थियो,' कलाचेभले भने, 'समग्रमा, क्रेमलिनका लागि सबै कुरा राम्रो भइरहेको छ।' (रासस/एएफपी)