काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २५ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा गरेको कम्पनीले गत वर्ष ३३७ प्रतिशत बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी भने १५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष ९ करोड ३९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष भने ७ करोड ९७ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी घटे पनि गैर सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २९७ दशमलव ३८ प्रतिशत बढी हुँदा कम्पनीको सञ्चालन नाफासँगै खुद नाफा बढ्न पुगेको हो ।
अघिल्लो वर्ष ४५ लाख ३७ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी गत वर्ष १ करोड ८० लाख रुपैयाँभन्दा बढी भएको छ । सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा ४३ दशमलव २३ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ४ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ६ करोड ९३ लाख रुपैयाँभन्दा बढी भएको हो ।
शत प्रतिशत हकप्रद शेयरमार्फत पूँजी बढाएर कम्पनीले चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार पुर्याएको छ । कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी र रिटेन्ड अर्निङमा २ करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११२ रुपैयाँ ६ पैसा छ ।