भक्तपुर । माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याई छ ।
मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले शुरु गरेको चाकु बनाउने पेसा नाति पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एक महीना अघिदेखि चाकु बनाउन व्यस्त छ ।
थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउँछन् । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको उनी बताउँछन्। माघे सङ्क्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उनको भनाइ छ । एक महीनादेखि उनको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन व्यस्त रहेको छ।
उनका अनुसार माघे सङ्क्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भीड लाग्छ, यहाँ उत्पादन भएको चाकु र पुष्टकारी औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन् ।
सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाईसमेत सहज हुने भएकाले जाडोमा मात्र नभई गर्मीमा चाकु लिन यहाँ आउने गरेको उनी बताउँछन् । यहाँका सुदीप श्रेष्ठ जाडोमा र वैशाख जेठमा दैनिक सातदेखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी विक्री हुने गरेको सुनाउँछन्। जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी विक्री गर्ने गरेको र माघे सङ्क्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक २०० किलोसम्म विक्री हुने गरेको उनको भनाइ छ ।
भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी र विभिन्न मसलाको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौँ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत मानिस आउने गरेका छन्। एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि आउने गरेको किस्सा उनी सुनाउँछन्।
यहाँको चाकु भारत, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका विभिन्न देशमा समेत पुग्छ । विदेश जाने बेलामा कोसेली पठाउने र विदेशमा बस्ने नेपालीले यहाँको चाकु नै माग गर्ने गरेका छन् ।
केही वर्ष अगाडिसम्म प्रतिकिलो ५०० रुपैयाँमा विक्री गरेकोमा कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको ७०० रुपैयाँमा विक्री गर्न थालेको उनी बताउँछन् । बाजेले शुरु गरेको यो व्यवसायबाट राम्रो जीविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिंदै आएका सुदीपले पनि यो पेसालाई नै भविष्यमा निरन्तरता दिंने मनसाय रहेको बताउँछन् । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.