काठमाडौं । चाँदीलाई पछि पार्दै बिटक्वाइन विश्वको आठौं ठूलो सम्पत्ति बनेको छ । बिटक्वाइनको हालको बजार पूँजीकरण १.७५२ ट्रिलियन अमेरिकी डलर पुगेको छ। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजय भएपछि उनका नीति क्रिप्टो-अनुकूल बन्न सक्ने अपेक्षाको प्रभावका कारण बिटक्वाइनको मूल्य पछिल्लो २४ घण्टामा ९% ले बढेर ८८ हजार ५७० डलर पुगेको छ।
बिटक्वाइनले चाँदीलाई मात्र होइन, अन्य प्रमुख कम्पनीहरूलाई पनि पछि पारेको छ। यसको बजार पूँजीकरणले मेटा प्लेटफर्म्स (१.४७२ ट्रिलियन), टेस्ला (१.१२३ ट्रिलियन) र वारेन बफेटको बर्कशायर ह्याथवे (१.००७ ट्रिलियन) लाई पनि पार गरेको छ।
सुन अझै पनि विश्वको सबैभन्दा ठूलो सम्पत्ति रूपमा कायम छ, जसको बजार पूँजीकरण १७.६ ट्रिलियन छ । त्यस्तै एनभिडिया, एप्पल, माइक्रोसफ्ट, र अल्फाबेट (गुगल) शीर्ष ५ मा छन् ।
बिटक्वाइनको यस तीव्र वृद्धिको प्रमुख कारण ट्रम्पको चुनावी जीत र क्रिप्टोसम्बन्धी सकारात्मक नीतिहरू हुन् । प्रकाशित विभिन्न समाचारअनुसार ट्रम्पले अमेरिकन सेक्युरिटी एन्ड एक्सेन्ज कमिसन (SEC) अध्यक्ष गेरी गेन्सलरको स्थानमा प्रो-क्रिप्टो व्यक्तिहरू मार्क उयेदा र पाल एटकिन्स नियुक्त गर्न सक्नेछन्, जसले क्रिप्टो उद्योगमा सजिलो बनाउन सक्छ।
चुनावपछि बिटक्वाइनले बजारमा उचाइ लिइरहेको छ । हाल यसको मूल्य ८९ हजार ६०४ डलरसम्म पुगेको छ । जुन गत नोभेम्बर ५ देखि हालसम्म करीब ३० प्रतिशतको उचाइमा छ । यदि यो गति कायम रह्यो भने यो वर्षको अन्त्यसम्म १ लाखको विन्दु पार गर्न सक्ने सम्भावना छ। एजेन्सीको सहयोगमा