वासिङ्टन डिसी (अमेरिका) । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हाउस अफ रिप्रिजेन्टिभमा पनि बहुमत पाएको छ ।
अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार रिपब्लिकनले हाउस अफ रिप्रिजेन्टिभका २१८ सिट जितेको छ । यो संख्या हाउस अफ रिप्रिजेन्टिभको बहुमत हो । डेमोक्रेटिक पार्टीले भने हाउस अफ रिप्रिजेन्टिभमा २०८ सिट जितेको छ ।
रिपब्लिकनले सिनेटमा यसअघि नै बहुमत हासिल गरिसकेको छ । सिनेटमा उक्त पार्टीकोे ५२ सिट भएको छ । त्यहाँ बहुमतका लागि ५० सिट आवश्यक पर्छ । डेमोक्रेटिक पार्टीको सिनेटमा ४७ सिट छ ।
ट्रम्पका सबै नीति पास होलान् ?
संसदका दुवै सदनमा बहुमत पाएको आधारमा ट्रम्प शक्तिशाली देखिएका छन् । तर, उनले ल्याएका सबै कानून पास हुन्छन् भन्ने ठोकुवा गर्न सकिँदैन । किनकि त्यहाँ पार्टीले आफ्ना सांसदलाई नेपालका पार्टीले जसरी ह्विप लगाउन पाउँदैनन् ।
जसका कारण राष्ट्रपतिले पेलेर आफ्नो नीति कानून पास गराउन सक्दैनन् । यसका लागि सांसदको विश्वास जित्नुपर्छ ।
यसआधारमा ट्रम्पले पनि आफ्ना नीति र कानून पास गराउन सांसदको विश्वास जित्न आवश्यक देखिन्छ । एजेन्सीको सहयोगमा