वासिङ्टन डीसी, अमेरिका । सरकारको नेतृत्व गर्ने दल तथा प्रमुखले आफ्नो कार्यकालमा आफूले रुचाएका तथा विश्वास पात्रहरूलाई नियुक्ति दिने गर्छन् । यसरी नियुक्ति दिनु सामान्य भएपनि ट्रम्पले दिन लागेका नियुक्ति भने अलि फरक र ठूलो संख्यामा हुने देखिएको छ ।
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पदबहाली भएपछि हुने प्रमुख प्रशासनिक नियुक्तिहरू र नीति परिवर्तनको योजनाहरू सार्वजनिक भएका छन् । ट्रम्पको नेतृत्वमा नयाँ "डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी" (डीओजीई) स्थापना गरिएको छ । जसको मुख्य उद्देश्य संघीय सरकारको खर्च घटाउने र नियमहरूको पुन: संरचना गर्नु भएको बताइएको छ ।
यस विभागको नेतृत्व टेक उद्योगका प्रमुख एलन मस्क र उद्यमी विवेक रामास्वामीले गर्ने भएका छन् । मस्कले यस विभागलाई "अमेरिकाको अन्तिम मौका" भन्दै यसको कार्यलाई अमेरिकी सरकारको अत्यधिक खर्चलाई कटौती गर्ने प्रयास भएको बताएका छन् ।
एलन मस्क, जो टेस्ला र स्पेस एक्सका प्रमुख हुन् । हालै सम्पन्न निर्वाचनमा उनी डोनाल्ड ट्रम्पको प्रमुख समर्थकका रूपमा देखिएका थिए । मस्क र रामास्वामीले विभागमा सरकारी कर्मचारीतन्त्रको विघटन गर्ने तथा अनावश्यक सरकारी खर्च कम गर्न योजना अगाडि सारेका छन् । मस्कले यस विभागलाई कागजी कार्य र सरकारी खर्चमा कटौतीका लागि उन्नत प्रविधिको प्रयोग गर्नेछन् ।
मस्कका अनुसार विभागले अनावश्यक खर्चलाई पारदर्शी रूपमा सार्वजनिक गर्न लिडरबोर्ड सिर्जना गर्नेछ । यतिमात्रै नभइ मस्कले २०२६ सम्म २ ट्रिलियन डलर बचत गर्नको लक्ष्य राख्ने बताएका छन् । जुन अमेरिकी सरकारको वर्तमान वार्षिक बजेटको ठूलो हिस्सा हो।
आफ्नो पुनरोदय भए हजारौं प्रशासनिक प्रमुख परिवर्तन गर्ने बताउँदै आएका ट्रम्पले साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमलाई गृह सुरक्षा सचिवको रूपमा चयन गरेका छन् । यस भूमिकामा नोएमले सीमा सुरक्षा, साइबर सुरक्षा र आप्रवासन जस्ता प्रमुख मुद्दाहरूको निरीक्षण गर्नेछन्।
ट्रम्पले फक्स न्यूजका होस्ट पीट हेगसेथलाई रक्षा सचिवका रूपमा चयन गरेका छन्। हेगसेथ पूर्व सैनिक हुन् । यस निर्णयले युक्रेन र गाजा युद्धका जस्तो संवेदनशील मुद्दामा ट्रम्पको नेतृत्वको दिशा निर्देश गर्नेछ।
ट्रम्पले इजरायलका लागि माइक हक्काबीलाई अमेरिकी राजदूतको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्। हक्काबी ट्रम्पका प्रखर समर्थक मात्रै होइन, उनी इजरायल समर्थक अधिकारी हुन् । जसले इजरायल र गाजाको मुख्य विवादित भूमि जेरूसलम इजरायलको राजधानी भएको धारणा राख्दै आएका थिए । उनको आगमनले गाजापट्टीलाई अझै असहज हुने आँकलन गरिएको छ ।
त्यस्तै ट्रम्पले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआए)का प्रमुखका रूपमा जोन राट्क्लिफलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।
फेडरल रिजर्भ र ट्रम्पका दृष्टिकोण
ट्रम्पले चुनावी अभियानमा केन्द्रिय बैंक फेडरल रिजर्भलाई पुन: संरचित गर्ने योजना ल्याएका छन्। उनले फेडका अधिकारीहरूमाथि हस्तक्षेप गर्नसक्ने बताइएको छ ।
अमेरिकी संविधानले फेडरल रिजर्भलाई स्वतन्त्रता दिएको छ र यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न प्रयास गरिएको छ।
यदि ट्रम्पले फेडको कार्यप्रणालीमा हस्तक्षेप गर्ने प्रयास गरे यसले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। यसबाहेक ट्रम्पको क्याबिनेटका धेरै सदस्यहरूको अनुभव र तयारीको प्रश्न पनि उठ्न थालेको छ । यसमा विशेष गरी रक्षा र विदेश नीतिहरू मुख्य छन् । एजेन्सीको सहयोगमा