काठमाडौं । अघिल्ला चार कारोबार दिन बढेको धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक आज (आइतवार) भने १ दशमलव ७२ प्रतिशत घटेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४७ दशमलव ४४ अंक घटेको हो । अघिल्लो कारोबार दिन बिहीवार २ हजार ७४५ दशमलव ३६ विन्दुमा बन्द भएको नेप्से आइतवार भने २ हजार ६९७ दशमलव ९१ विन्दुमा बन्द भएको हो ।
यो दिन २ हजार ७४८ दशमलव ७८ विन्दुसम्म पुगेको नेप्से २ हजार ६८९ दशमलव ४६ विन्दुसम्म झरेको थियो । दशैंपछिको कारोबारमा उत्साहित लगानीकर्ता आइतवार भने प्रोफिट बुक गर्नेतर्फ सक्रिय रहेको जानकारी ब्रोकरहरूले दिएका छन् ।
यस दिन २२६ कम्पनीको धितोपत्र मूल्य घट्दा १८ कम्पनीको धितोपत्र मूल्य बढेको बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।
घटेको बजारमा दुई जलविद्युत कम्पनीको शेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ । यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत र ङादी ग्रुप पावरको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत बढेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ ९० पैसाले बढेर अन्तिम मूल्य २ हजार ३०८ रुपैयाँ ९० पैसा पुगेको हो भने ङादी ग्रुप पावरको प्रतिकित्ता ४७ रुपैयाँले बढेर अन्तिम मूल्य ५२२ रुपैयाँ कायम भएको हो ।
आइतवार कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँभन्दा बढीको २ करोड ८ लाख ६८ हजार कित्ता धितोपत्र कारोबार भएको छ । यो कारोबार पछिल्लो १८ कारोबार दिनपछिकै उच्च हो । यसअघि भदौ ३० गतेको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँभन्दा बढीको २ करोड ४८ लाख ४६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । त्यसपछिको कारोबारमा ८ अर्बभन्दा कमकै धितोपत्र कारोबार भएको देखिन्छ ।
बजार घट्दा कारोबार रकम बढ्नुले लगानीकर्ता सस्तोमा शेयर खरीद गर्न इच्छुक रहेको अनुमान समेत ब्रोकरहरूले लगाएका छन् । लाभांशको समय शुरु भएकाले लगानीकर्ता बजारप्रति सकारात्मक रहेको कारोबार रकम वृद्धिले पनि प्रष्ट पार्ने ब्रोकरहरू बताउँछन् ।
यसदिन कुल कारोबार रकममा गुडवील फाइनान्सको सर्वाधिक हिस्सा रहेको छ । गुडवील फाइनान्सको ४५ करोड ७ लाख रुपैयाँभन्दा बढीको ४ लाख ८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य ८ दशमलव ४१ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ ९० पैसाले घटेर अन्तिम मूल्य १ हजार ९९ रुपैयाँ १० पैसा कायम भएको छ ।
आज कुल बजार पूँजीकरण ४२ खर्ब ८९ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६५ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ थियो । एकै दिन कुल बजार पूँजीकरण ७५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँले घटेको हो ।
यस दिन म्युचुअल फण्डको परिसूचक स्थिर रहेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । बैंकिङको १ दशमलव शून्य २ प्रतिशत, विकास बैंकको २ दशमलव ३४ प्रतिशत, वित्तको ४ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव २३ प्रतिशत, जलविद्युतको २ दशमलव १४ प्रतिशत, लगानीको १ दशमलव ८९ प्रतिशत, जीवन बीमाको २ दशमलव ४६ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ५ प्रतिशत, लघुवित्तको १ दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ५२ प्रतिशत, अन्यको १ दशमलव ५० प्रतिशत र व्यापारिक समूहको १ दशमलव ८६ प्रतिशत परिसूचक घटेको हो ।