काठमाडौं । नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरूमध्ये समृद्धि फाइनान्सबाहेक सबै कम्पनीले चालू आव २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार ५ कम्पनी घाटामा छन् भने बाँकी सबै कम्पनी नाफामा छन् ।
सर्वाधिक नाफा कमाउने वित्त कम्पनीहरूमध्ये शीर्षमा मञ्जुश्री फाइनान्स छ । यस कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा रू. ९ करोड ४२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ८३ प्रतिशत बढी हो । गत आवको पहिलो तीन महीनामा कम्पनीले रू. ८ करोड २७ लाख नाफा कमाएको थियो ।
सर्वाधिक नाफा कमाउने वित्त कम्पनीको सूचीमा दोस्रोमा प्रोग्रेशिभ फाइनान्स छ । कम्पनीले चालू आवको पहिलो तीन महीनामा रू. ८ करोड ९ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा भने कम्पनी रू. ६ करोड ११ लाख घाटामा थियो ।
त्यस्तै, जानकी फाइनान्सले रू. ६ करोड ९० लाख, आइसिएफसि फाइनान्सले रू. ६ करोड ८८ लाख, गुडवील फाइनान्सले रू.४ करोड ९५ लाख, सेन्ट्रल फाइनान्सले रू. ४ करोड ९५ लाख, गोर्खाज फाइनान्सले रू. २ करोड ४२ लाख, मल्टीपर्पस फाइनान्सले रू. १ करोड ४७ लाख र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले रू. ४१ लाख ५१ हजार नाफा कमाएका छन् ।
पहिलो त्रैमासमा वेष्ट फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स घाटामा रहेका हुन् । तीमध्ये गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले सबैभन्दा बढी रू. ११ करोड ३३ लाख घाटा व्यहोरेको छ । त्यस्तै, रिलायन्स फाइनान्स रू. ५ करोड ७५ लाख, पोखरा फाइनान्स रू.४ करोड ९० लाख, नेपाल फाइनान्स रू. २ करोड ४० लाख र वेष्ट फाइनान्स रू. ९६ लाख ४१ हजार घाटामा छन् ।
कम्पनी घाटामा रहेपनि धितोपत्र दोस्रो बजारमा भने यी कम्पनीको शेयर लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ । सोही कारण यी कम्पनीको शेयर मूल्य उच्च रहेको छ । नेपाल फाइनान्स रू. २ करोडभन्दा बढी घाटामा रहेको छ । यस कम्पनीको शेयर मूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता रू. १ हजार ३१८ रहेको छ ।
वित्तीय अवस्था नाजुक भएका कम्पनीमा लगानी गर्दा उच्च जोखिम हुने शेयरसम्बन्धी जानकार बताउँछन् ।