काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा २९ अर्ब ९५ करोड ७ लाख रुपैयाँभन्दा बढीको ७ करोड ३७ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । यो साता पाँच कारोबार दिन धितोपत्र दोस्रो बजार खुला भएको हो ।
गत साता दशैं बिदाका कारण तीन कारोबार दिन मात्र बजार खुलेको थियो । गत साता तीन कारोबार दिनमा १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ८४ लाख ४९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
गत साताभन्दा दुई दिन बढी कारोबार भएकाले यो साता कुल कारोबार रकम बढेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । तर, औसतमा समेत यो साता कारोबार रकम बढी भएको छ ।
कुल कारोबार रकम १४ अर्ब ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको यो साता औसत कारोबार रकम भने ६८ करोड ५० लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । गत साता औसतमा ५ अर्ब ३० करोड रुपैयाँभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ५ अर्ब ९९ करोड १ लाख रुपैयाँभन्दा बढीको १ करोड ४७ लाख ४४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
चाडपर्व सकिएसँगै बजारमा लगानीकर्ताको सक्रियता बढेको ब्रोकरहरू बताउँछन् । देशभित्र मात्र हैन, विदेशमा भएका नेपाली नागरिकले समेत पछिल्लो समय सक्रियता देखाएको जानकारी समेत ब्रोकरहरूले दिएका छन् ।
लाभांश सिजन भएकाले पनि यतिबेला लगानीकर्ता वित्तीय अवस्था बलियो भएका र लाभांश वितरण गर्न सक्ने कम्पनीको शेयरप्रति आकर्षित हुन थालेको भनाइ पनि ब्रोकरहरूको छ । लगानीकर्ताको सक्रियतालाई हेर्दा बजार सकारात्मक गतिमै अघि बढ्ने अनुमान समेत ब्रोकरहरूले गरेका छन् ।
यो साता कारोबार रकम बढेको भएपनि बजार भने घटेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७४५ दशमलव ३६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ६२७ दशमलव १४ विन्दुमा झरेको हो ।
यो साताका पाँच कारोबार दिनमध्ये पहिलो कारोबार दिन ४७ दशमलव ४४ अंकले बजार घटेको थियो । दोस्रो कारोबार दिन ५७ दशमलव ९९ अंकले घटेको बजार तेस्रो कारोबार दिन २५ दशमलव ८८ अंक बढेको थियो । यस्तै, चौथो कारोबार दिन २० दशमलव २१ अंक र पाँचौं कारोबार दिन १८ दशमलव २५ अंकले बजार घटेको थियो ।
अंकका हिसाबमा यो साता ११८ दशमलव २२ अंक बजार घटेको देखिन्छ । समग्र धितोपत्र कारोबार मापक नेप्सेसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव २५ प्रतिशत घटेको छ ।
बजार घटेसँगै बजारमा सूचीकृत कम्पनीको धितोपत्र मूल्य पनि ४ दशमलव ३१ प्रतिशत घटेको बजार सञ्चालक नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६५ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन भने ४१ खर्ब ७७ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,627.14 | 2,745.36 | -118.22 | -4.31 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 474.26 | 495.3 | -21.04 | -4.25 |
कारोबार रकम (रू. हजारमा) | 29,950,775.25 | 15,915,367.70 | 14,035,407.54 | 88.19 |
कारोबार कित्ता | 73,720,780.00 | 38,449,081.00 | 35,271,699.00 | 91.74 |
औसत कारोबार रकम (रू. हजारमा) | 5,990,155.05 | 5,305,122.57 | 685,032.48 | 12.91 |
औसत कारोबार कित्ता | 14,744,156.00 | 12,816,360.33 | 1,927,795.67 | 15.04 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,177,414.79 | 4,365,393.24 | -187,978.45 | -4.31 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
बैंकिङ समूहका लगानीकर्ताले सर्वाधिक गुमाए
यो साता सबै समूहगत परिसूचक घट्दा बैंकिङ समूहको परिसूचक सर्वाधिक ५ दशमलव २७ प्रतिशत घटेको छ । बैंकिङसँगै जीवन बीमाको ५ दशमलव १७ प्रतिशत, होटल तथा पर्यटन समूहको ५ प्रतिशत परिसूचक घटेको नेप्सेले जानकारी दिएको छ ।
त्यस्तै लगानीको ४ दशमलव ७२ प्रतिशत, विकास बैंकको ४ दशमलव ३० प्रतिशत, अन्यको ३ दशमलव ९४ प्रतिशत, लघुवित्तको ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ६७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव २४ प्रतिशत, वित्तको ३ दशमलव १० प्रतिशत, जलविद्युतको २ दशमलव ९५ प्रतिशत, व्यापारिकको २ दशमलव ९२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७५ प्रतिशत परिसूचक घटेको छ । गत साता सर्वाधिक परिसूचक घटेका जलविद्युत र वित्त समूह भने गत साता कम गुमाउनेमा परेका छन् ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
म्युचुअल फण्ड | 21.12 | 21.28 | -0.75 |
व्यापारिक | 3,545.65 | 3,652.20 | -2.92 |
जलविद्युत् | 3,212.92 | 3,310.68 | -2.95 |
वित्त | 3,330.78 | 3,437.19 | -3.1 |
उत्पादन तथा प्रशोधन | 6,968.85 | 7,201.85 | -3.24 |
निर्जीवन बीमा | 12,713.30 | 13,197.18 | -3.67 |
लघुवित्त | 4,876.78 | 5,072.62 | -3.86 |
अन्य | 2,038.79 | 2,122.48 | -3.94 |
विकास बैंक | 5,177.88 | 5,410.55 | -4.3 |
लगानी | 104.53 | 109.71 | -4.72 |
होटल तथा पर्यटन | 6,338.09 | 6,671.68 | -5 |
जीवन बीमा | 12,679.06 | 13,370.81 | -5.17 |
बैंकिङ्ग | 1,523.46 | 1,608.24 | -5.27 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।