काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य तोकिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार कम्पनीको हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गर्दै हकप्रद शेयरपछिको शेयर मूल्य प्रतिकित्ता १ हजार १०१ रुपैयाँ ८५ पैसा तोकेको हो । कम्पनीको बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ९८८ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासनको मिति तय गर्न बाँकी रहेपनि बुक क्लोजको मिति भने कात्तिक ९ गते एक दिनका लागि तय गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीदका लागि योग्य हुने भएका हुन् ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत असोज १४ गते उक्त हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । कम्पनीलाई बोर्डले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात पूँजी रू. ५ अर्ब पुग्नेछ ।